बैंकहरुबाट एक सातामा ७ अर्ब झिकियो, कर्जा निक्षेप अनुपात ९१ प्रतिशत

0
Shares

वाणिज्य बैंकहरुबाट निक्षेप झिकिने क्रम अझै पनि कायम नै छ । चालु आर्थिक वर्षको मंसिर महिनाको पहिलो साता ४ अर्बले निक्षेप घटेको बैंकिङ प्रणालीमा गत साता पनि करिब ७ अर्ब रुपैयाँ घटेको हो ।

नेपाल राष्ट्र बैंकले ब्याजदरमा सीमा तोकेपछि बैंकहरुबाट क्रमिक रुपमा निक्षेप झिकिन थालेको छ । पछिल्लो समयमा बैंकहरुमा रहेको निक्षेप धेरै ब्याजको प्रलोभनमा सहकारीमा गएको हुनसक्ने अनुमान समेत बैंकरहरुको रहेको छ ।

नेपाल बैंकर्स संघले पनि यस सम्बन्धमा चासो देखाउँदै बैंकहरुबाट झिकिएको निक्षेप र सहकारीमा थपिएको निक्षेपको तथ्याङ्क संकलन गर्न थालेको छ । सो तथ्याङ्कका आधारमा मात्र बैंकिङ प्रणालीको निक्षेप सहकारीमा गए–नगएको यकिन गर्न सकिन्छ । तर, सहकारीमा भने बैंकिङ्ग प्रणालीको पैसा केही आउन थालेको सहकारीका अधिकारीहरुले बताउँछन् ।

बैंकिङ प्रणालीबाट निक्षेप झिकिने र नयाँ निक्षेप नथपिए पनि कर्जा प्रवाह भने जारी रहेको छ । यसले गर्दा बैंकहरुको कर्जा निक्षेप अनुपातमा चाप परेको देखिन्छ । मंसिर महिनाको दोस्रो साता वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९१ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जानु हुँदैन । तर, केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा सीमामा ल्याउने समयावधि दिएको छ । जसका लागि बैंकहरुले निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई केन्द्रीय बैंक समक्ष पेश गरि सोको कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

मंसिर महिनाको दोस्रो सातामा बैंकहरुको निक्षेप ७ अर्बले घटेको भएपनि कर्जा लगानी भने १४ अर्बले बढेको छ । यो महिनाको पहिलो सातामा करिब ७ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका बैंकहरुले दोस्रो सातामा निक्षेप झनै घटेको भएपनि कर्जा बढाएका हुन् । पछिल्लो समयमा बैंकहरुले निक्षेप ल्याउन नसक्दा कर्जा लगानी रकमको अभाव बढेको र कर्जाको फाइल बिक्री गर्ने प्रचलन बढेको छ ।

मंसिर महिनको १० गतेसम्ममा बैंकहरुले कुल ४२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो अवधिसम्ममा बैंकहरुले कुल कर्जा ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।