सेयर लगानीकर्ताको मनोबल कमजोर हुँदा रोकिएन बजारको पहिरो

0
Shares

सेयर लगानीकर्ताको मनोबल कमजोर हुँदै जादा लगातार छठौं कारोबार दिनसम्म नेप्सेमा गिरावट आएको छ ।

यो साताको अन्तिम कारोबार दिन विहीबार मात्रै नेप्से सूचक ४९ अंकले ओरालो लागेको छ ।

अघिल्लो सातादेखि नै घट्न थालेको बजार गत साताका दुई दिन सकारात्मक रहेको थियो । तर यो साताको पाँचै कारोबार दिन बजार नकारात्मक रह्यो । यो साता मात्रै बजार १४७ अंकले ओरालो लागेको छ । पछिल्लो १० कारोबार दिनमा नेप्से सूचक १८४ अंकले ओरालो लागेको छ ।

लगानीकर्ताको मनोबल उठ्न नसक्दा बजार निरन्तर ओरालो लागेको छ भने शेयर किनबेचमा समेत सुस्तता देखिएको छ ।

लगानीकर्ताको मनोबल उकास्ने प्रयासहरु कतैबाट नहुँदा सामान्य लगानीकर्ताहरुमा झनै अन्योलता बढेको छ । सरकार र सरोकारवालाले पूँजी बजारका समस्या समाधान गर्न कुनै चासो नदिएको, तरलता अभाव र बैंक ब्याजदर लगायतले पनि लगानीकर्ताको मनोबल खस्किएको एक लगानीकर्ताले बताए ।

मौद्रिक समीक्षाले शेयर लगानीकर्तालाई केहि राहात दिने अपेक्षा गरिएको भएपनि राष्ट्र बैंकले लगानीकर्ताको अपेक्षा सम्बोधन नगरेपछि बजार निरन्तर ओरालो लाग्दै आएको छ । लगानीकर्ताको मनोबल उच्च नभए सम्म बजारमा सुधार हुन विश्लेषकहरु बताउँछन ।

बिहीबार नेप्से ४९.०४ अंक घटेर २५८४.६१ विन्दुमा झरेको छ। यस दिन २३१ कम्पनीको ४७ हजार ८६४ पटकको कारोबारबाट ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको ७० लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि कारोबार रकम भने सामान्य बढेको छ। बुधबार २ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएकोमा बिहीबार ३ अर्ब ४१ करोडको शेयर किनबेच भयो । महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै १२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन सामलिङ्ग पावर कम्पनी र न्यादी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.८० प्रतिशत घटेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।