केन्द्रीय बैंकले ३ अर्ब ५ करोड मुद्दती खातामा लगानी गर्ने

0
Shares

केन्द्रीय बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले तोकिएको सर्तहरुको पालना गर्दै उक्त रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले २०७८ पुस १ गते देखि २०७९ मंसिर २९ गतेसम्म १ वर्षको अवधिका लागि मुद्दती खातामा उक्त रकम लगानी गर्न लागेको हो।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई २ अर्ब ४४ करोड, विकास बैंकहरुलाई ४५ करोड ७५ लाख र ग वर्गका संस्थाहरुलाई १५ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको जानकारी दिएको छ ।

सो निक्षेप रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर सहितको आवेदन केन्द्रीय बैंकमा बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले मंसिर २१ गते दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा निवेदन दिनुपर्नेछ ।

केन्द्रीय बैंकले लगानी गर्न चाहेको रकम राख्नका लागि निक्षेप राख्ने संस्थाले तोकिएको सर्त पूरा भएको हुनुपर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको संस्था मात्र यसका लागि योग्य हुनेछ ।

त्यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्नेछ।

यस्तै निक्षेप लिने बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको नपरेको हुनपर्ने सर्त सूचनामा तोकिएको छ । उक्त मुद्दती निक्षेपलाई केन्द्रीय बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर गोप्य रुपमा मागेको छ भने अधिकतम ब्याजदर कबोल गर्ने बैंक वित्तीय संस्था लगानीका लागि स्वीकृत गरिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।