विद्युतीय चुलोको प्रयोग बढ्दो, चार महिनामा झण्डै ४५ हजार चुलो आयात

0
Shares

पछिल्लो केही महिना यता विद्युतीय चुलोको प्रयोग र माग बढ्न थालेको छ । बिजुलीको सहज आपूर्ति र नयाँ नयाँ प्रविधि भित्रिने क्रम बढेसँगै खाना पकाउने विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो ।

बिजुलीको सहज उपलब्धता र खाना पकाउने ग्यासको मूल्य समेत बढेपछि अहिले विद्युतीय चुलुको माग बढेको हो । नयाँ बानेश्वर स्थीर बाल्ट्रा कम्पनीका विद्युतीय चुलोका बिक्रेता रामेश्वर न्यौपानेले पछिल्लो दिनहरु विद्युतीय चुलोको बिक्री बढेको बताए ।

विद्युत महसुल घट्नु पहिला तीन चार दिनमा मुस्किलले एउटा चुलो बिक्री हुने गरेकोमा अहिले दैनिक चार देखि पाँच वटा सम्म बिक्री हुने गरेको उनको भनाई छ । “पहिले तीन चार दिनमा एउटा बिक्री हुन्थो । अहिले विद्युतको पैसा घटेपछि व्यापार राम्रो छ । दिनमा चार देखि पाँच वटा बिक्री हुन्छ ।” न्यौपानेले भने ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनामा अवधिमा नेपालमा १० करोड बढीको विद्युतीय चुलोहरु आयात भएका छन । पछिल्लो चार महिनामा झण्डै ४५ हजार चुलो आयात भएको विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले जानकारी दिए । विभागका अनुसार अहिले नेपालमा इनडक्सन र इन्फ्रारेड गरी दुई किसिमको विद्युतीय चुलो आयात हुने गरेको छ ।

सरकारले विद्युत उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न विद्युत महसुल औसत २.८४ प्रतिशतले घटाएको छ । जसले गर्दापनि विद्युतीय चुलो प्रयोगमा उपभोक्ता हौसिएका हुन ।

विद्युत महसुल घटेपछि ग्यास भन्दा विद्युतीय चुलो सस्तो पर्ने भन्दै उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि विद्युतीय चुलोको प्रयोगमा जोड दिइरहेकी छिन् ।मन्त्री भुसाल मात्र होइन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि विद्युतिय खपत बढाउन विद्युतीय चुलोको प्रयोग गर्न आग्रह गर्दै आइरहेका छन् ।

चार महिनामा १० करोड बढीको विद्युतीय चुलो आयात

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिना अर्थात साउनदेखि कात्तिकसम्म १० करोड भन्दा बढी मूल्यको विद्युतिय चुलो आयात भएको छ । यस अवधिमा भारत र चीनबाट १० करोड २९ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युतीय चुलो आयात भएको हो ।

जसमा ६ करोड ४४ लाख ९० हजार बराबरको २७ हजार ७०२ इन्डेक्सन चुलो र ३ करोड ८५ लाख ५ हजार बराबरको १७ हजार २४४ इन्फ्रारेड चुलो आयात भएको विभागले जनाएको छ ।

आयात भएको विद्युतीय चुलो मध्य सबैभन्दा बढी चीनबाट भित्रिएको हो । चार महिनामा चीनबाट मात्रै ९ करोड १ लाख ९७ हजार रुपैयाँ बराबरको ३८ हजार ६०४ वटा विद्युतिय चुलो आयात भएको हो ।

जसमा ५ करोड १६ लाख ९२ हजार बराबरको २१ हजार ३६० वटा इन्डक्सन चुलो र १७ हजार २४४ वटा ३ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको इन्फ्रारेड चुलो आयात भएको हो । यस अवधिमा भारतबाट १ करोड २८ लाख ३० हजार रुपैयाँ बराबरको ६ हजार ३४२ वटा विद्युतिय चुलो आयात भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।