बैंकहरुबाट निक्षेप बाहिरिने क्रम रोकिएन, कर्जा लगानी पनि सुस्ताउन थाल्यो

0
Shares

बैंकहरुबाट निक्षेप बाहिरिने क्रमले मंसिरको चौथो साता पनि निरन्तरता पाएको छ । मंसिर तेस्रो साता बैंकहरुमा ७ अर्ब निक्षेप थपिए पनि चौथो सातामा आएर ५ अर्बले घटेको छ ।
बैंकहरुमा निक्षेप थपिने क्रम रोकिए पनि कर्जा लगानीमा भने बढोत्तरी आएको छ । निक्षेप नबढ्दा कर्जा विस्तारको आकार भने खुम्चन थालेको छ । नेपाल बैंकर्स संघका अनुसार मंसिर चौथो साता ५ अर्ब निक्षेप घट्दा पनि वाणिज्य बैंकहरुले ७ अर्बले कर्जा विस्तार गरेका छन ।

मंसिर महिनामा मात्रै वाणिज्य बैंकहरुबाट १२ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ भने यस अवधिमा बैंकहरुले ४२ अर्बले कर्जा विस्तार गरेका छन । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष सुरु भएयता अर्थात साउनदेखि मंसिर २४ गतेसम्ममा ३ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् भने २० अर्बले मात्र निक्षेप थपिएको छ ।

बैंकिङ प्रणालीबाट निक्षेप झिकिने र नयाँ निक्षेप नथपिए पनि कर्जा प्रवाह भने जारी रहेको छ । यसले गर्दा बैंकहरुको कर्जा निक्षेप अनुपातमा चाप परेको देखिन्छ । अहिले वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९१.२४ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जानु हुँदैन । तर, केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा सीमामा ल्याउने समयावधि दिएको छ । जसका लागि बैंकहरुले निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई केन्द्रीय बैंक समक्ष पेश गरि सोको कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

पछिल्लो समयमा बैंकहरुले निक्षेप ल्याउन नसक्दा कर्जा लगानी रकमको अभाव बढेको र कर्जाको फाइल बिक्री गर्ने प्रचलन बढेको छ । मंसिर महिनाको २४ गतेसम्ममा बैंकहरुले कुल ४२ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो अवधिसम्ममा बैंकहरुले कुल कर्जा ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्ष सुरु भए यता नै बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावको अवस्थाबाट गुज्रिरहे पनि कर्जा विस्तारमा भने आक्रमक नै रहे । कर्जा विस्तारको तुलनामा बैंकहरुमा निक्षेप नथपिँदा तरलता संकटको समस्या झनै चुलिँदै गयो । त्यती मात्र नभै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहको गतिलाई नियन्त्रण गर्नका लागि पूँजी, कर्जा तथा निक्षेप अनुपातलाई खारेज गरी कर्जा निक्षेप कायम ग¥यो । त्यसले गर्दा अहिले बैंकहरुमा तरलता अभावको समस्यासँगै कर्जा लगानी योग्य रकमको समेत अभाव बढेको छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।