उद्योग विस्तारका लागि निजी क्षेत्रलाई चाहिएजति विद्युत उपलब्ध गराउँछौं : ऊर्जामन्त्री

0
Shares

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशङ्कामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन । उनले भनीन्, “आफ्ना उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुन्छ भन्ने कुरा हृदयगम गर्नुहोला, मेरो पहिलो अपिल यही हुन्छ ।”

ऊर्जा खपतका विषयमा निजी क्षेत्रसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा उनले भनीन्, “निजी क्षेत्रलाई हामी चाहिएजति गुणस्तरीय विद्युत उपलब्ध गरउँछौँ ।” उनले सहज तवरले कुनै पनि बिलम्ब नगरीकन विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै केही समस्या भएमा सिधैँ कार्यकारी निर्देशक र आफूलाई पनि सम्पर्क गर्न आग्रह गरीन् ।

निजी क्षेत्रले विद्युत् महसुल दर कम गरेर खपत बढाउन सकिने भनि दिएको सुझावमा मन्त्री भुसालले यस विषयमा आफू सकारात्मक रहेको तर विद्युत खरिद दर (पिपिए)का आधारमा महसुल दर हेरफेर गरिनुपर्ने बताइन् । उनले निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्ने भएकाले विद्युत खपत गर्ने वैदेशिक लगानीका उद्योग स्थापनामा पहल गर्न आग्रह गरीन् ।

कार्यक्रममा मन्त्रालयका ऊर्जा सचिव देवेन्द्र कार्कीले सुधार भनेको निरन्तर हुँदै जाने भन्दै ऊर्जा क्षेत्रका गुणस्तर सुधारका लागि आफूहरू प्रतिवद्ध रहेको बताए । उनले उद्योगी तथा व्यवसायीलाई समस्या परेको भए कहाँ र केके समस्या परेको हो स्पष्टरूपमा विषय खुलाएर आए त्यस्ता समस्या समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारीन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई १३२ केभीबाट विद्युत लिन आग्रह गरे । उनले भने, “हामीले ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउन १३२ केभीका प्रशारण कोरिडोर निर्माण गरेका छौँ, त्यसबाट विद्युत लिँदा गुणस्तरमा कुनै समस्या हुँदैन ।”

छलफलमा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गुणस्तरीय विद्युत उपलब्ध गराउन र ट्रान्समिशन लाइनको भरपर्दो पूर्वाधार विकास गर्न सुझाव दिए । त्यसैगरी छलफलमा सहभागी अन्य उद्योगीहरूले गुणस्तरीय विद्युत उपलब्ध गराउन र विद्युत महसुल कम गर्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।