निक्षेपमा नेपाल बैंक सबैभन्दा सबल, ६ बैंकको संस्थागत निक्षेप ५०% माथि

0
Shares

निक्षेपको दृष्टिकोणबाट नेपाल बैंक अन्य २६ बैंक भन्दा बलियो देखिएको छ । नेपाल बैंकमा संस्थागत भन्दा पनि व्यक्तिगत निक्षेपको हिस्सा धेरै भएको हुनाले अन्य भन्दा सबल मानिएको हो ।

बैंकिङ अभ्यास अनुसार संस्थागत निक्षेप भन्दा व्यक्तिगत निक्षेप धेरै भएको संस्थालाइ निक्षेपको दृष्टिकोणबाट बलियो मानिन्छ । व्यक्तिगत निक्षेप धेरै भएका संस्थाहरुका लागि कर्जा लगानीका लागि स्रोतको उपलब्धताको समस्या अन्यमा भन्दा कम हुने गरेको देखिन्छ । त्यति मात्र नभई निक्षेपको प्रकृतिले समग्र संस्थाको अवस्थालाई समेत देखाउने गरेको बैंकरहरु बताउँछन् ।

व्यक्तिगत निक्षेप धेरै भएको बैंकलाई कर्जा लगानीमा सहज हुने मात्र नभई अन्य संस्थाको तुलनामा स्रोत अभावको समस्या समेत कम हुने एक बैंकरले बताए । “बैंकिङ प्रणालीमा स्रोतको अभाव भएको अवस्थामा समेत व्यक्तिगत निक्षेपको हिस्सा धेरै भएका बैंकहरुले कर्जा प्रदान गरीरहेको अवस्था छ,” ती बैंकरले भने,“संस्थागत निक्षेप धेरै भएको संस्थाको सन्दर्भमा एउटा निक्षेप झिकियो भने संस्थामा स्रोत अभाव मात्र नभई संस्था नै समस्यामा पर्न सक्ने अवस्था समेत आँउछ ।”

नेपाल राष्ट्र बैंकले पनि संस्थागत निक्षेपलाई केही कडाई गरेको छ । राष्ट्र बैंक पनि संस्थागत भन्दा पनि व्यक्तिगत निक्षेपको हिस्सा धेरै हुनेपर्ने नीति अबलम्बन गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको बढीमा १० प्रतिशत सम्मको सीमामा नबढ्ने गरी संस्थागत निक्षेप परिचालन गर्न पाउँछ । त्यसमा पनि सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश कुल निक्षेपको ५० प्रतिशतभन्दा बढी गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

गत असारसम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये २१ ले सो व्यवस्थाको पूर्ण पालना गरेको देखिन्छ । सो अवधिमा बैंकिङ प्रणालीको कुल निक्षेपमा व्यक्तिगत निक्षेप औसतमा ५४ प्रतिशत देखिन्छ । गत असारसम्ममा सञ्चालनमा रहेका २७ वणिज्य बैंकहरु मध्ये १७ वटाको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा औसत भन्दा धेरै रहेको छ ।

गत आवमा नेपाल बैंकको संस्थागत निक्षेप सबैभन्दा थोरै अर्थात ३५ प्रतिशत मात्र रहेको छ । यस आधारमा पनि बैंकको व्यक्तिगत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको स्पष्ट हुन्छ । सरकारी लगानी रहेको नेपाल बैंकमा व्यक्तिगत निक्षेप धेरै हुनुमा सर्वसाधारणको सरकार प्रतिको विश्वास कारण पनि हो । त्यसले बैंकलाई अन्य बैंकको तुलनामा तरल रहन मद्दत पुर्याएको छ । त्यति मात्र नभई अन्य बैंकमा देखिएको तरलता अभाव तथा कर्जा लगानी योग्य रकमको अभावको समस्याले ठूलो असर गरेको देखिँदैन ।

त्यसैगरी व्यक्तिगत निक्षेप धेरै हुनेमा निजी क्षेत्रको लक्ष्मी बैंक र सानिमा बैंक रहेका छन् । दुबै बैंकको व्यक्तिगत निक्षेपको हिस्सा कुल निक्षेपमा ६२ प्रतिशत भन्दा माथि रहेको छ । गत आवमा ५ बैंकहरुको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा ६० प्रतिशत भन्दा धेरै छ । अन्य बैंकले स्रोत अभावको कारण देखाउँर्दै कर्जा प्रबाह नै रोकेको अवस्थामा पनि व्यक्तिगत निक्षेप धेरै भएका बैंकहरुमा अझै पनि त्यस्तो अवस्था देखिइ नसकेको एक बैंकरले बताए । व्यक्तिगत निक्षेपको हिस्सा धेरै भएका बैंकहरुले ग्राहकलाई फर्कउन नपरेको समेत ती बैंकको भनाई छ।

नेपाल राष्ट्र बैंकको ५० प्रतिशतको संस्थागत निक्षेपको सीमा सञ्चालनमा रहेका ६ बैंकले पालना गर्न नसकेको देखिन्छ । संस्थागत निक्षेप ५० प्रतिशत भन्दा धेरै हुनेमा नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनसीसी बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् । यी मध्ये पनि नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै अर्थात कुल निक्षेपको करिब ६० प्रतिशत हिस्सा संस्थागत निक्षेपको रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।