सूचीकृत वाणिज्य बैंकको लाभांशः नबिल शीर्ष स्थानमा हुँदा सिभिल पुछारमा

सूचीकृत वाणिज्य बैंकको लाभांशः नबिल शीर्ष स्थानमा हुँदा सिभिल पुछारमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।  मुलुकका कूल २७ वाणिज्य बंैकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस सेयर समेत दिने गरी लाभांश घोषणा गरेका हुन् ।

घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारण सभा सम्पन्न गरी वितरणको निर्णय समेत पारित गराइसकेको तथा केही चाहिँ साधारण सभाको तयारीमा छन् । सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ ।

नबिलले ३३.६ प्रतिशत बोनस सेयर तथा ४.४० प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । त्यस्तै गत आवको वितरणयोग्य नाफाका आधारमा सिभिल बैंकले सबैभन्दा कम ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।

त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८ प्रतिशत बोनस सेयर तथा ४.६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । धैरै लाभांश दिनेमध्ये कृषि विकास बैंकले २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सानिमा बैंकले १७ प्रतिशत बोनस तथा ०.८९४७ प्रतिशत नगद सहित १७.८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगद सहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत बोनस तथा ३.३८९ प्रतिशत नगद सहित १६ प्रतिशत र सिटिजन्स बैंकले १२.९१३ बोनस तथा ३.०८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने जनाएका छन् ।

लाभांश घोषणा गरेको एनएमबि बैंकले आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर तथा ३.३० प्रतिशत नगद सहित १५.८० प्रतिशत, एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी १५.७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरी कुल १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५ प्रतिशत नगद सहित १५ प्रतिशत, माच्छापुच्छ्रे बैंकले १३.३० प्रतिशत बोनस तथा ०.७० प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमई बैैंकले १० प्रतिशत बोनस तथा ३.५० प्रतिशत नगदसहित १३.५० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

साथै प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १२ बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश दिने भएको छ । मेगा बैंकले १० प्रतिशत बोनस तथा २.०७ नगद सहित १२.०७ प्रतिशत आफ्ना सेयरधनीलाई दिने भएको छ । लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.०५ नगद गरेर ११.०५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद, कुमारी बैैंकले ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद र सनराइज बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद सहित ७ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन् ।

सेञ्चुरी बैंकको लगानीकर्तालाई बैंकले ५.७५ प्रतिशत बोनस तथा ०.३ प्रतिशत नगद गरी ६.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै नेपाल एसबिआई बैंकले ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

घोषणा भएका लाभांश नियामकको अनुमति र साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्छन् । सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) को दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खाता र बोनस सेयर डिम्याट खातामा सोझै जम्मा हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार १८ : ०५ बजे