बीमा कम्पनीको बीमाशुल्क १९ प्रतिशतले बढ्योः ७३ अर्ब २२ करोड आर्जन

0
Shares

नेपालमा सञ्चालित ३९ वटा बीमा कम्पनीहरुले १९ प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेका छन् ।

गत आवको ५ महिनाको तुलनामा बीमा कम्पनीको कुल बीमाशुल्क संकलन १८.८७ प्रतिशतले बढेर मंसिर मसान्तसम्ममा ७३ अर्ब २२ करोड २५ लाख २८ हजार रुपैयाँ नाघेको हो । गत आव २०७६।७७ को पाँच महिनामा बीमा कम्पनीहरुले ६१ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको मंसिर मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ७९ करोड ५६ लाख १९ हजार रुपैयाँ र २० निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोड ६९ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो आवको पाँच महिनामा १९ जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४९ करोड रुपैयाँ र २० निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले ११ अर्ब १६ करोड ६८ लाख ९६ हजार रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुले २ अर्ब ८४ करोड ४१ लाख ५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

तथ्याङ्क अनुसार २०७८ मंसिर मसान्तसम्ममा कुल २८.०१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । अघल्लो आवको यसै अवधिको तुलनामा पहुँच ५.८७ प्रतिशतले बढेको हो । वैदेशिक रोजगार बीमालेख सहितको तथ्याङ्कमा पनि बीमाको पहुँच ५.२६ प्रतिशत वृद्धि भएर ३० प्रतिशतमा कायम भएको समितिले जनाएको छ ।

२०७८ मंसिरसम्ममा ९० लाख ९ हजार १५३ वटा जीवन बीमालेख र ६ लाख १० हजार २९४ वटा वैदेशिक बीमालेख गरी कुल ९६ लाख १९ हजार ४४७ वटा जीवन बीमालेख जारी भएका छन् । एक वर्षको अवधिमा थप १७ लाख ९६ हजार १२८ वटा (२२.९६ प्रतिशत बढी) जीवन बीमालेख जारी भएका छन् ।

निर्जीवन बीमालेखतर्फ पनि २०७८ मंसिरसम्ममा १२ लाख ४८ हजार १९२ वटा बीमालेख जारी गरिएको छ । २०७७ मंसिरमा यस्तो संख्या १२ लाख १० हजार ८३ रहेकोमा ३८ हजार १०९ वटा (३.१५ प्रतिशत) बढेको हो ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३३ अर्ब ४४ करोड र निर्जीवन बीमा कम्पनीहरुको १८ अर्ब ४३ करोड १२ लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १९.३८ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ८.७७ प्रतिशतले बढेको छ ।

२०७७ मंसिरमा बीमा कम्पनीहरुको कुल शाखा संख्या २ हजार ८३५ रहेकोमा ४१४ वटा बढेर ३ हजार २४९ पुगेको छ भने कर्मचारी संख्या १ हजार ५५ ले बढेर ११ हजार ४५२ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।