डिस्को र दोहोरी नरुचाउनेको रोजाईमा पार्टी बस, लेडिजलाई बुधबार ‘फ्रि इन्ट्री’

0
Shares

हामी प्राय: बसमा यात्रा गरिरहेकै हुन्छौं । हामीले यात्रा गर्ने बसहरुमा झ्यालका दुबै साइडमा खचाखच सिटहरु राखिएको हुन्छ । अनि कोचाकोच यात्रु । सार्वजनिक बसहरुमा यात्रा गर्नेहरुका लागि यी कुनै नौला कुरा रहेनन् ।

तर, आजकल काठमाडौंमा पार्टी गर्न मिल्ने बसहरु पनि सञ्चालनमा आएका छन् । नेपालमा सन् २०२० जनवरीबाट बसभित्रै पार्टी गर्ने मिल्ने “पार्टी बस नेपाल” सञ्चालनमा आएका थिए । डिजेको सङ्गित र पेयपदार्थको सुविधा सहित पार्टी गर्ने मिल्ने बसहरु पार्टीमा रमाउनेहरुको रोजाईमा पर्न थालेका छन् ।

भारतको टाटा कम्पनीले निमार्ण गरेका यी बसहरुको अन्य बसहरु भन्दा केही फरक डिजाइनका छन् । बसलाई बाहिरबाट झट्ट हेर्दा कुनै रात्री बस जस्तो देखिन्छ । तर भित्र जाँदा कुनै डिस्को या पार्टीमा पुगेजस्तो आभाष हुन्छ ।

साथीहरु मिलेर रमाइलो गर्न मन लागेमा पार्टी बसलाई कल गरेपछि यात्रु लिन यो बस यात्रु भएकै ठाउँमा आईपुग्छ । आफुले भनेको ठाउँबाटै चढ्न तथा रमाइलो सकिएपछि पनि सोही ठाउँमा झर्न मिल्ने भएपछि उपत्यकामा पार्टी बसमा रमाउनेहरुको संख्या बढ्दै गएको छ ।

कसरी आयो नेपालमा “पार्टी बस नेपाल” ?

केही समय अघि कम्पनीका अपरेसन डिरेक्टर उमेश सुवेदी घुमघामका लागि डेनमार्क पुगेका थिए । नेपालमा फरक व्यवसाय गर्ने योजना बनाइरहेका उनले त्यहाँ पार्टी बस चल्नेकुरा थाहा पाए । जुन नेपाल र नेपालीका लागि एकदमै नौलो हुनसक्थ्यो । साथीभाईहरुसँग सल्लाह गरेपछि पार्टी बस नेपाल संचालन गर्ने योजना बनेको सुवेदीले सुनाए ।

“केही समय अघि म डेनमार्क गएको थिए । त्यही सिलसिलामा त्यहाँ साथिहरुसँग भेट भयो, त्यहाँ पनि यस्तो पार्टी बस चल्दो रहेछ । ” सुवेदीले भने,“नेपालमा पनि केही नयाँ व्यवसाय गर्ने भन्ने छलफल हुँदा खेरि यहाँका फाउन्ड डाइरेक्टर अशोक शर्माले भिजिट नेपाल २०२० पनि आउँदैछ नयाँ कन्सेप्टमा काम गरौ भनेर यसको सुरुवात गरेको हो ।”

पार्टी बस नेपालमा अशोक शर्मा, भोजेन्द्र सुवेदी, उमेश सुवेदी, रमेश काफ्ले, भिम क्षेत्री लगायत ३० जनाको न्यूनतम ५ लाख देखि ३० लाखसम्म लगानी रहेको छ । यी दुई बस सञ्चालनको लागि कूल ६ करोडको लगानीमा सुरु गरिएको सुवेदीले बताए ।

व्यवसाय सुरु नहुँदै लकडाउनको मार

नेपालमा सन् २०२० मा भिजिट नेपाल २०२० लक्षित गरी यो बस सुरु गरिएको हो । तर विश्व अर्थतन्त्रलाई नै धक्का मार्ने कोरोना माहामारीको असरले यो बस समेत प्रभावित भयो । नयाँ काम, नयाँ जोस, नयाँ उत्साहका साथ सुरु गरिएको यो व्यवसाय सुरु नहुँदै लामो समय थलिएर नै बस्नुपर्यो ।

“बस उद्घाटन गरेको छोटो समयमै लकडाउन हुँदा २० महिना जति हामी थुनियौं । त्यसपछि फेरी माघमा सुरु भयो, माघ, फागुन, चैत्र चलायौ । बैशाख सुरु हुँदै फेरि लकडाउन सुरु भयो ।” सुवेदीले भने,“ भदौको २५ गतेबाट सुरु गर्यौ दशैं, तिहारले पनि असर नै भयो त्यसपछि एक महिना जति भयो अहिले राम्रो छ ।”

सुरु भएको केही महिना अर्थात अघिल्लो वर्षको बैशाखमा १६ वटा बिहेको रिजर्भवेसन आएपनि लकडाउनले सबै रद्ध गर्नुपरेको उनले बताए । उनले भने,“अस्ति पनि बैशाखममा ६ गतेबाट होटलहरु सरकारले सबै बन्द गर्ने भयो, त्यो समय पनि ११ वटा रिजर्भवेसन थियो, लकडाउनले गर्दा सबै रद्ध गर्नुपर्यो । एउटा बुटवलको चै ठूलो रकमको भएर पास बनाएर गयौं ।”

पार्टी बसको सेवा सुविधा

अन्य बसमा जस्तो पार्टी बसमा चढिसकेपछि खाने पिउने तथा दिसा पिसाब कहाँ गर्नेहोला भन्ने चिन्ता लिनु पर्दैन । बसभित्रै डिजे, बार, धूम्रपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, मोबाइल चार्ज गर्न मिल्ने व्यवस्था, शौचालय तथा अर्डर अनुसारका खाना लगायतको व्यवस्था छ ।

यस बसमा चारैतिर (ट्वाइलेट र धुम्रपान कक्ष बाहेक) सिसि क्यामेरा जडान गरिएको छ । जसले गर्दा यात्रु सुरक्षामा सचेत रहेको सञ्चालक बताउँछन् । त्यसैगरी यो बस साउन्ड प्रुफ छ । यस बसमा बजेको गीत बाहिर सुनिँदैन ।

त्यस्तै यस बसको झ्यालहरुमा फुट्ने र नफुट्ने गरी दुई प्रकारका सिसा लगाइएको छ । बसको बाहिरी भागको सिसा फुट्छ । तर भित्र ग्राहकले भेट्ने ठाउँमा रहेको सिसा नफुट्ने प्रकारका छन् ।

यस्तै सेवा सुबिधाका कारण पनि यहाँ जस्तो सुकै पार्टी गर्न सहज छ । बस सञ्चालनमा आएदेखि हालसम्म यस बसमा करिब ४० वटा विवाह, बर्थ–डे, एनिभर्सरी, स्टाफ पार्टी, ब्याचलर पार्टी, भिजा पार्टी, गेट टुगेदर लगायत विभिन्न पार्टीहरु सञ्चालन भइसकेका छन् ।

कति खर्च लाग्छ ?

निजी बुकिङ नभएको अवस्थामा साँझ साढे ७ बजे पश्चात दैनिक रुपमा रिङ्ग रोड र उपत्यकाका रोडहरुमा निस्किन्छन् । यो बस राती २ बजेसम्म चल्ने गरेको छ । बसमा १ हजार रुपैयाँ तिरेपछि जुनसुकै वर्गका मान्छेले पनि रमाइलो गर्न पाउँछन्।

एक हजार रुपैयाँ तिरेर इन्ट्री गरीसकेपछि बियर पिउनले ५०० एमएल बियर, हुस्की पिउनेले स्वदेशी भए ६० एमएल र विदेशी भए ३० एमएल र जुस खानेलाई एउटा जुस दिइने व्यवस्था रहेको छ । र बाँकी ग्राहकले आफ्नो रुचि अनुसारका खाना तथा पेयपदार्थहरु त्यहाँ अर्डर गरेर लिन सक्नेछन् ।

त्यसैगरी यो बस निश्चित समयका लागि बुक गर्न पनि सकिन्छ । डिरेक्टर सुवेदीका अनुसार ३ घण्टाको बुकिङका लागि ३० हजार रुपैयाँ, ६ घण्टाका लागि ४५ हजार रुपैयाँ र १२ घण्टाको ६० हजार रुपैयाँ लाग्ने गरेको छ । बुक गर्दा उपत्यका भित्र भए सोही दरमा भाडा लाग्ने तथा उपत्यका बाहिरका लागि भए त्यस बाहेक प्रति किलोमिटर २०० रुपैयाँ लाग्ने छ ।

दैनिक एक लाख आम्दानी

फोन गरेर पनि बुक गर्न सकिने तथा चढेकै ठाउँमा झर्न मिल्ने भएपछि सर्वसाधरण देखि भीआइपी सम्मको रोजाईमा परेको छ पार्टी बस । त्यसैले पनि अहिले यो बसको बुकिङ बढ्न थालेको छ । डिरेक्टर सुवेदीका अनुसार सिजनका समयमा दैनिक १ लाख २५ हजार आम्दानी हुने गरेको छ ।

भीडभाड नरुचाउनेको रोजाईमा

बस भित्र छिरेर ढोका बन्द गरेपछि न त बाहिर हो हल्ला नै हुन्छ न भीडभाडको । न त धेरै जना आएर लफडा होला भन्ने पिर । त्यसैले पनि यो बस भीडभाड नरुचाउनेको रोजाईमा परेको छ ।

यो बस कर्पोरेट हाउस, होम डिस्को रुचाउने, भीडभाडमा देखिन नचाहनेहरु, निर्माण कम्पनीका मालिकहरु अथवा दोहोरी तथा डिस्कोमा जान नरुचाउनेहरुको रोजाई पर्ने गरेका छ । “तर हामीले यो त्यो भनेर ग्राहक छान्न मिल्दैन् । हामी चप्पल लाएर छिर्न चाँही दिँदैनौ । भित्र लफडा भयो भने सम्झाएर झारिदिन्छौं तर अहिले सम्म यस्तो भएको छैन् ।” सुवेदीले भने ।

बुधबारको दिन लेडिजको लागि फ्रि इन्ट्रीको व्यवस्था छ अर्थात बुधबार “लेडिज नाइट” मा सहभागी हुने लेडिजले पार्टी बसमा १ हजार रुपैयाँ इन्ट्री फि तिर्नुपर्दैन ।

विस्तारको योजना

अहिले उपत्यकामा लोकप्रिय बन्दै गइरहेको यो बस अन्य सहरी क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको डिरेक्टर सुवेदीले बताए । उनका अनुसार उपत्यका बाहिर पनि यस प्रकारको बसको माग आएमा पोखरा, नारायणघाट तथा बुटवलमा विस्तार सकिने बताए ।

बसको क्षमता/रोजगारी

यी दुई बसमा ९४ जनाको क्षमता छ । जहाँ एउटा बसमा ४७ जनासम्म सुविधाजनक ढंगले रहन सक्छन् । एउटा बसमा ३५ जना ग्राहक हुन्छन् भने बाँकी स्टाफ रहने सुवेदीले बताए ।

यो बसले नयाँ अनुभव र मनोरन्जनका साथै धेरै जनालाई रोजगारी पनि दिएको छ । बसले २५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । जसलाई न्यूनतम १० हजार रुपैयाँ देखि २५ हजार रुपैयाँ सम्म पारिश्रमिक दिने गरेको सञ्चालकले बताएका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।