एक सातामै चौध अर्बले बढ्यो निक्षेप संकलनः ११ अर्ब कर्जा लगानी थपियाे

0
Shares

वाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप संकलनको क्रम बढेको छ । पुसको दोस्रो साता वाणिज्य बैंकहरुमा १४ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको छ भने कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार पुस १६ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेर ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुुगेको छ । जसमा ४१ खर्ब ४८ अर्ब स्वदेशी मुद्रामा निक्षेप संकलन गरेका छन् भने विदेशी मुद्रामा संकलन भएको निक्षेपको अंश १ खर्ब १ अर्ब रहेको छ ।

अघिल्लो साताको तुलनामा स्वदेशी निक्षेप संकलन २० अर्बले बढ्दा विदेशी मुद्राको निक्षेप ६ अर्बले घटेको हो ।

अघिल्लो साता (पुस ९ गतेसम्म) बैंकहरुको कुल निक्षेप संकलन ४२ खर्ब ३५ अर्ब रहेको थियो । जसमध्ये ४१ खर्ब २८ अर्ब स्वदेशी र १ खर्ब ७ अर्ब विदेशी मुद्रामा निक्षेप संकलन भएको थियो ।

पूँजीगत खर्च बढ्न नसकेपछि पछिल्लो समय विकासे मन्त्रीहरुलाई बोलाएर अर्थमन्त्री जनार्दन शर्माले पुस लाग्नेवित्तिकै यो महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका थिए। पूँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको उल्लेख गर्दै शर्माले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न ताकेता गरेकाले पनि पछिल्लो समय खर्च बढ्दा निक्षेप संकलन पनि बढेको हो ।

निक्षेप संकलनमा सुधार भएसँगै यस अवधिमा कर्जा लगानीमा समेत वृद्धि भएको छ । पुस १६ गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा ३९ खर्ब ७४ अर्ब स्वदेशी मुद्रामा र १ खर्ब २५ अर्ब विदेशी मुद्रामा कर्जा लगानी भएको हो ।

अघिल्लो साताको तुलनामा २१ अर्बले स्वदेशी मुद्रामा हुने कर्जा बढ्दा विदेशी मुद्राको कर्जा लगानी भने १० अर्बले घटेको छ ।
पुस ९ गतेसम्म ४० खर्ब ८८ अर्ब कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता ११ अर्बले कर्जा लगानी बढाएका हुन् । जसमा ३९ खर्ब ५३ अर्ब स्वदेशी मुद्रामा र १ खर्ब ३५ अर्ब विदेशी मुद्राको कर्जा लगानी भएको थियो ।

नेपाल राष्ट्र बैंकले लागू गरेको सीडी रेसियोको ९० प्रतिशतको सीमा नाघेपछि कर्जा लगानीमा अंकुश लागेका कारणले पनि वाणिज्य बैंकहरुको कर्जा लगानीभन्दा निक्षेप संकलन उच्च भएको हो । कर्जा लगानीमा बैंकहरु संयमित हुँदा पछिल्लो साता कर्जाको तुलनामा ३ अर्ब बढी निक्षेप संकलन भएको हो । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार पुस १६ गते शुक्रबारसम्ममा वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ९१.०२ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।