पाँच वाणिज्य बैंकसहित दुई दर्जन कम्पनीको साधारण सभा, के-के छन एजेण्डा ?

0
Shares

चालु आर्थिक वर्षको पुसमसान्तको दिन पाँच वाणिज्य बैंक सहित २३ कम्पनीले गत आर्थिक बर्षको बार्षिक साधारण सभा सम्पन्न गर्दैछन् ।

पुस मसान्तसम्ममा गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने नियम छ । तर, कतिपय कम्पनीहरुले विभिन्न कारणले गर्दा पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने अवस्था छ । त्यस्ता कम्पनीहरुले नियम अनुसारको जरिवाना तिरेर त्यसपछि साधारण सभा गर्न पाउँछन् ।

आज नबिल बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले साधारण सभा गर्दैछन्। एनआइसी एसिया बैंक बाहेक अन्य वाणिज्य बैंकहरुले यसअघि नै साधारण सभा सकिसकेका छन् । एनआइसीले अझै पनि राष्ट्र बैंकबाट साधारणसभा गर्ने स्वीकृति पाइसकेको छैन ।

नबिल बैंकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सिभिल बैंकले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

हिमालयन बैंकले बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौता लगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

सिद्धार्थ बैंकले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकले ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै आज खानीखोला, छ्याङ्दी हाइड्रोपावर, कालिका पावर, मैलुङ खोला र हिमालयन पावर पार्टनरले साधारण सभा गर्दैछन् । आकाश क्यापिटलको साधारण सभा पनि आजै छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स, जनउत्थान लघुवित्त, आरएमडीसी लघुवित्त, कालिका लघुवित्त, आँधिखोला लघुवित्त,  रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टीप्रपोज फाइनान्सले पनि साधारण सभा गर्दैछन् । यसैगरी सानिमा जनरल इन्स्योरेन्सले पनि शुक्रबार साधारण सभा गर्दैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।