आधा वर्ष सकिँदा ३१ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ११ प्रतिशत मात्रै

0
Shares

सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जम्माजम्मी ३१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को आधा वर्ष अर्थात पुस मसान्तसम्ममा सरकारले ३१.०३ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

यसअवधिमा लक्ष्यको साढे ४७ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशजनक छ । ६ महिनाको अवधिमा सरकारको विकास खर्च १२ प्रतिशत पनि पुगेको छैन् ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस ३० गते शुक्रबारसम्म सरकारले ११.५६ प्रतिशतमात्रै पुँजीगत खर्च गर्न सकेको छ । अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका भएको पनि सो अनुसारको काम हुन नसक्दा अर्थमन्त्रीले अघि सारेको लक्ष्य विफल हुँदै गएको छ ।

केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । पुसमसान्तसम्म सरकारले ५ खर्ब ६ अर्ब ६९ करोड ३० लाख रुपैयाँ खर्च गरेको हो ।

प्रतिस्थापन बजेट मार्फत अर्थमन्त्री शर्माले चालुतर्फ १० खर्ब तीन अर्ब ७४ करोड ७ लाख, पूँजीगततर्फ ४ खर्ब २९ अर्ब ६५ करोड ९ लाख र वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेका थिए । जसमध्ये ६ महिनाको अवधिमा कूल बजेट ५ खर्ब ६ अर्ब ६९ करोड ३० लाख (३१.०३%) खर्च भएको छ । यसअवधिमा पूँजीगत खर्च ११.५६, चालूतर्फ ४०.४९ र वित्तीय व्यवस्थापनतर्फ २६.१२ प्रतिशत बजेट खर्च भएको छ ।

बजेट खर्च निराशजनक रहेपनि स्रोत व्यवस्थापनमा भने सरकार सफल नै देखिएको छ । ६ महिनाको अवधिमा सरकारले ४७.५७ प्रतिशत स्रोत व्यवस्थापन गरेको छ । सरकारले चालु वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा ५ खर्ब ४२ अर्ब ५ करोठ ४५ लाख राजश्व उठाइसकेको छ ।

यसअवधिमा कर राजस्व ४६.२६ र गैरकर राजस्व ४२.६७ प्रतिशत उठेको छ । यसबीच सरकारले लक्ष्यको २३.१७ प्रतिशत अनुदान प्राप्त गरेको छ । सरकारले यो वर्ष ५९ अर्ब ९१ करोड अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।