एनएमबि बैंकको खुद ब्याज आम्दानी घटेपनि बढ्यो नाफा, १ अर्ब ७१ करोड आर्जन

0
Shares

एनएमबि बैंक लिमिटेड (NMB) को खुद ब्याज आम्दानी बढेपनि खुद नाफामा भने ६ प्रतिशत बढीले वृद्धि भएको छ । खुद ब्याज आम्दानी घटेपनि बैंकको इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको १६ करोड ५४ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशतको वृद्धि हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ छ ।
चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ पुग्दा वार्षिक प्रतिसेयर आम्दानी भने १.०६ रुपैयाँ घटेर १८.६४ रुपैयाँमा संकुचित बनेको छ । नाफा वृद्धिभन्दा पूँजीवृद्धि उच्च हुँदा इपिएसमा दबाब परेको हो ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ८१ अर्ब ७० करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७२ अर्ब १४ करोड ४१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले २ अर्ब ७१ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ४२ करोड २९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन १०.४६, कर्जा लगानी १४ प्रतिशत र सञ्चालन नाफा ५.३८ प्रतिशतले बढेको हो भने खुद ब्याज आम्दानी ५.३७ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको जगेडा कोष ११.२७ प्रतिशत घटेर ६ अर्ब ७५ करोड ९४ लाख कायम हुँदा प्रतिसेयर नेटवर्थ १३६.८० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात १.४९ प्रतिशत, कस्ट अफ फण्ड ५.७८ प्रतिशत, आधारदर ८.५८ प्रतिशत, सिडी रेसियो ८८.८८ प्रतिशत, पूँजीकोष अनुपात १४.०८ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.९६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।