राष्ट्र बैंकले बुधबार १० अर्बको विकास ऋणपत्र निष्कासन गर्ने

राष्ट्र बैंकले बुधबार १० अर्बको विकास ऋणपत्र निष्कासन गर्ने

नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले माघ १२ गते बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८० 'ङ' जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो ।

यो विकास ऋणपत्र २ वर्षे अवधिको हुनेछ । माघ १२ गते बुधबार निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८० माघ १२ गते हुनेछ ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा खासै चासो देखाएको देखिँदैन ।

इच्छुकले माघ ११ गते मंगलबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । यदि राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २.५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरी प्राप्त भौचर बुझाउनुपर्ने हुन्छ ।

प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ८ अर्ब ५० करोड (८५ प्रतिशत) र १ अर्ब ५० करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ ।

निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० माघ २०७८, सोमबार १३ : २४ बजे