जनगणना २०७८ : जनसंख्या वृद्धिदर घट्यो, १० वर्षमा २७ लाखले बढ्यो, पुरुष भन्दा महिला धेरै

0
Shares

केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

१० वर्ष अघिको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो। १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो जनगणनाको तुलनामा यसपटक जनसंख्या वृद्धिदर घटेको छ। अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत रहेको विभागले जनाएको छ ।

विभागका अनसार २०७८ को जनगणना अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । पछिल्लो १० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार ७०६ जना र पुरुषको जनसंख्या १४ लाख ४२ हजार २७० जना थप भएको हो । जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । २०६८ सालमा महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४६३ जना थियो भने पुरुषको १ करोड २८ लाख ४९ हजार ४१ जना रहेको थियो । महिलाको जनसंख्यामा ९.२० प्रतिशत र पुरुषको जनसंख्यामा ११.२२ प्रतिशतले वृद्धि भएको छ । पुरुषको तुलनामा महिलाको जनसंख्या ६ लाख ९ हजार ५ जनाले बढी छ ।

विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । जनगणना अनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।

नेपालमा विक्रम संवत १९६८ सालदेखि जनगणना गर्न थालिएको हो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार रहेको थियो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार यसपटक कालापानी र लिपुलेकको जनसंख्या विवरण राष्ट्रिय जनगणना–२०७८ मा समावेश गरिएको छ । भौतिक रूपमा उपस्थित भएर त्यहाँ जनगाणना गर्न नसकिएपनि अप्रत्यक्ष रूपमा विवरण संकलन गरिएको विभागको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।