शोधनान्तर स्थिति २४१ अर्बले घाटामा, पुसमा मात्र ४६ अर्ब थपियो


चालु आर्थिक वर्षको पुसम्ममा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा गत आवको सोही अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको पहिलो ६ महिनामा २ अर्ब २ करोडले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको मंसिसम्मका शोधनान्तर स्थिति १९५ अर्ब १ करोडले घाटामा रहेको थियो । चालु आर्थिक वर्षको मंसिर महिनामा मात्र करिब ४५ अर्ब शोधनान्तर स्थिति घाटामा रहेको थियो ।

चालु आवको पुसम्ममा चालु खाता ३५४ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता चालु आवको पुसम्ममा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।

चालु आवको पहिलो ६ महिनामा पुँजीगत ट्रान्सफर २०.० प्रतिशतले कमी आई ५ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई रु.११ अर्ब ३४ करोड पुगेको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।