बैंकहरुबाट माघमा १३ अर्ब निक्षेप बाहिरियो, १२ अर्ब कर्जा विस्तार

0
Shares

चालु आर्थिक वर्षको माघ महिनामा मात्रै वाणिज्य बैंकहरुबाट १३ अर्ब निक्षेप बाहिरिएको छ । बैंकहरुको निक्षेप घट्नेक्रम जारी रहँदा कर्जा विस्तार पनि सुस्ताएको छ । माघमा बैंकहरुले १२ अर्बले कर्जा विस्तार गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको माघ २९ गतेसम्म बैंकहरुले ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ५५ अर्ब कर्जा विस्तार गरेका छन् ।

गत पुस मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब २४ अर्ब निक्षेप उठाएर ४१ खर्ब ४३ अर्ब कर्जा विस्तार गरेका थिए ।

चालु आर्थिक वर्षको माघ महिना अर्थात दश महिनाको अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब १० अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले चार खर्ब ३४ अर्ब कर्जा विस्तार गरेका छन । दश महिनाको अवधिमा बैंकहरुको कर्जा विस्तार निक्षेप संकलनको तुलनामा झण्डै चार गुणा रहेको छ ।

बैंकहरुबाट निक्षेप घटेको मात्र नभई कर्जा लगानीमा समेत नियन्त्रण भएको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि भएकाले नयाँ निक्षेप लिदा समेत कर्जा दिने अवस्था नभएपछि कर्जा प्रवाह रोकिएको छ । त्यस्ता बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ । यसले गर्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमास सुरु भएसंगै बैंकिङ क्षेत्रको जटिलता झनै बढ्ने संकेत देखिएको छ ।

चालु आर्थिक सुरु भएपछि कोरोनाले ठप्प भएको अर्थतन्त्रले गति लिन सुरू गर्यो । आर्थिक गतिविधिमा सुधार आयसँगै कर्जाको माग पनि उच्च भयो । सोही अनुसार बैंकहरुले कर्जा लगानी गर्दै जाँदा वित्तीय क्षेत्रमा तरलताको समस्या देखियो ।

चालु आर्थिक वर्षको दोस्रो महिना देखि सुरु भएको तरलता अभावको समस्या झनै जटिल बन्दै कर्जा लगानी योग्य रकमको अभाव समेत देखिन थाल्यो । तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव भएपनि बैंकहरुले कर्जा विस्तार नै रोकेको अवस्था थियो ।

सरकारले पूँजीगत खर्च नगर्ने तथा बैंकहरुको कर्जा आयातका लागि मात्र परिचालन भएपछि तरलता समस्या झने जटिल अवस्था पुगेको थियो । चालु आर्थिक वर्ष सुरु भएदेखि नेपाल राष्ट्र बैंकले ८५ प्रतिशत कायम गर्नुपर्ने पूँजी, कर्जा तथा निक्षेप अनुपातको सट्टामा कर्जा निक्षेप अनुपात (सीडी) लागू गर्यो । केन्द्रीय बैंकले लागू गरेको कर्जा निक्षेप अनुपातको सीमा ९० प्रतिशत तोकेको छ ।

चालु आर्थिक वर्षको सुवातदेखि नै कसिलो अवस्था रहेको बैंकहरुको औषत कर्जा निक्षेप अनुपात माघ महिनामा पनि ९० भन्दा माथि नै रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।