भन्सार छलीको पाँच लाखका सामग्री बरामद

भन्सार छलीको पाँच लाखका सामग्री बरामद

भन्सार छली गरेर ल्याइएको पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले नवलपरासी कावासोतीबाट बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु १ क ४६० नम्बरको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए।

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को रामग्राम नगरपालिका–१ का ४० वर्षीय पशुपति चमारले चलाएको उक्त सवारीसाधन जाँच गर्ने क्रममा चिउराको भुसले छोपेर ल्याउँदै गरेको बिनाबिलको ५० किलो तौलका १०० बोरा चिनी तथा १५ कार्टुन रेडबुल बरामद गरिएको गिरीले बताए ।

प्रहरीले बरामद गरेको उक्त चिनीको मूल्य ४ लाख तथा रेडबुलको मूल्य ९० हजार रुपैयाँ पर्छ । बरामद गरिएको सामग्रीसहित ट्रक र चालक तथा रामग्राम नगरपालिका-१ का ४१ वर्षीय हिरामणि मिश्रलाई महेशपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फागुन २०७८, बुधबार ११ : ५० बजे