मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः सेयर सहित अनुत्पादक क्षेत्रको कर्जामा थप कडाइ

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाइ गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो घोषणा गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृति (सेयर कर्जा) को कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेयर धितोमा जाने जस्ता कर्जा, जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा नीतिमा पुनरावलोकन हुने बताउँदै समीक्षा मार्फत गरिएको परिमार्जनमा के कति हेरफेर हुन्छ भन्ने विषयमा भने केही दिनभित्रै जारी हुने सर्कुलरले थप स्पष्ट पार्ने बताए ।

रियलस्टेट र सेयर धितो ऋणमा अहिले जोखिम भार शतप्रतिशत छ। राष्ट्र बैंकका प्रवक्ता प्रवक्ता डा. भट्टले समीक्षामा जोखिम भार शतप्रतिशतबाट बढाउने निर्णय भएको बताए ।

राष्ट्र बैंकले यसअघि नै आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै आयातमा कर्जामा कडाइ गरेको थियो । यस्तै यसअघि नै सेयर धितोमा जाने कर्जामा पनि ४।१२ को सीमा तोकेर कडाइ गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।