बैंकहरुका लागि घर जग्गा, गाडी तथा सेयरको लगानी उच्च जोखिम युक्त क्षेत्र: राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले घर जग्गा, गाडी तथा सेयर कर्जा लगानीका लागि उच्च जोखिम भएका क्षेत्रका रुपमा वार्गिकरण गरेका छ । राष्ट्र बैंक उत्पादन मूलक क्षेत्रमा लगानी बढाउन ती क्षेत्रका कर्जाको जोखिम भार बढाई १५० प्रतिशतसम्म पुर्याएको हो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गा, गाडी तथा सेयरमा उच्च लगानी भएपछि सम्पत्तिको मूल्य मात्र बढेको अवस्था छ ।

अन्य आर्थिक गतिविधि सुस्त तथा अर्थतन्त्र नै जटिल मोडमा पुग्दा पनि यी क्षेत्रका सम्पत्तिको मूल्य भने निरन्तर उकालो लागिरहेको अवस्था छ । यसले आन्तरिक उत्पादन भन्दा पनि आयातलाई बढवा दिएको हुँदा अर्थतन्त्र ढुलमुलाएको अवस्था छ ।

यसभन्दा अघि राष्ट्र बैंकले उच्च आयातलाई नियन्त्रण गर्नका लागि केही वस्तुहरुको आयातमा नै कडाई गरेको थियो । त्यसले पनि विदेशी विनियम सञ्चितिमा आएको गिरावटमा कमी नआएपछि चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवर्षिक समीक्षा मार्फत सम्पत्तिको मात्र मूल्य बढ्ने क्रमलाई तोड्न तथा आयातलाई निरुत्साहित गर्ने खालको नीति अबलम्बन गरेको ग्रयो ।

सोही अर्धवार्षिक समीक्षा मार्फत गरिएको नीतिगत व्यवस्थाको कार्यान्वयनका लागि बुधबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै तोकिएका क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमा समयमा केही लचकता अपनाएको छ । यसले राष्ट्र बैंकले सम्पत्तिको बढ्दो मूल्यलाई नियन्त्रण गरी आयात नियन्त्रण गर्ने तथा आन्तरिक उत्पादन विस्तार गर्ने प्रयास गरेको स्पष्ट हुन्छ ।

राष्ट्र बैंकले घरजग्गा, गाडी तथा सेयर कर्जा मात्र नभई ओभरड्राफट र ट्रष्ट रिसिप्टलाई पनि उच्च जोखिममा राखेको छ । राष्ट्र बैंकले ट्रष्ट रिसिप्टमा जोखिम भारित १२० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी घरजग्गा, गाडी, ओभरड्राफ्ट र सेयर कर्जाको जोखिम भार भने १५० प्रतिशत कायम गरेको छ । यसभन्दा अघि ओभरड्राफ्ट कर्जाको जोखिम भार ७५ प्रतिशत थियो । त्यसैगरी अन्य कर्जाको जोखिम भार १०० प्रतिशत थियो । राष्ट्र बैंकले बुधबार कर्जाको जोखिम भार बढाउँदै जारी गरेको निर्देशनको कार्यान्वयन भने आगामी आर्थिक वर्षबाट मात्र हुने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।