रुस-युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई कसरी प्रभाव पार्छ ?

0
Shares

फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भलाम्दिर पुटिनले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गर्ने अनुमति दिएपछि रसिया र युक्रेन बीचयुद्ध सुरु भएको छ ।

युक्रेनका पूर्वी सहर लगायतका विभिन्न सहरहरुमा भएको हमला पछि युद्धले थप भयङ्कर रुप लिएको छ । रुस र युक्रेनबीच युद्ध हुनु र पश्चिमा देशहरुले रुसमा कठीन आर्थिक प्रतिबन्ध लगाउनुले रुसी अर्थतन्त्रमा मात्रै नभई सारा विश्वलाई नै समस्यमा पारेको छ । कच्चा तेल तथा खनिज पदार्थहरुको भण्डार मानिने रुस र युक्रेनबीच युद्ध हँुदा त्यसले कच्चा तेल आपूर्तिको श्रृङ््खलामा अवरोध खडा गरेको छ । त्यति मात्र नभई रुस र युक्रेनको युद्धले विश्व अर्थतन्त्रमा थप समस्या निम्त्याएको छ । अब जानौं रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा निमत्याउन सक्ने समस्याहरुः

पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको मूल्यमा वृद्धि हुने

रुसले युक्रेनमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य ६० प्रतिशतले आकाशिएको छ । कच्चा तेलमा दोस्रो ठूलो उत्पादक र प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रहेको रुसले युद्धको बीचमा आपूर्ति बन्द गरिदियो भने त्यसबाट युरोप, बेलायत, अमेरिका मात्रै प्रभावित नभई सारा संसार भरी नै प्रभाव पार्ने छ । जर्मनीले नर्ड स्ट्रीम पाइपलाइन बन्द गरेको छ जसकारण रुसी जनता समस्यामा परेका छन् । तर दीर्घकालमा यस किसिमको प्रतिबन्धले सबैलाई समस्यामा पार्ने निश्चित छ ।

खाद्य पदार्थको मूल्य बढ्ने

रसिया र युक्रेनलाई बे्रडबास्केट अफ युरोप भनेर चिनिन्छ । संसारभर उत्पादन हुने गहुँको एक चौथाइ रुस र युक्रेनमै उत्पादन हुन्छ । त्यसैगरी विश्वभर उत्पादन हुने कुल सूर्यमुखी तेलको आधा उत्पादन युक्रेनमा हुन्छ । विश्लेषकहरुका अनुसार रुस–युक्रेन युद्धले गहुँ तथा सूर्यमुखी तेलको उत्पादनमा प्रभाव पार्ने र मूल्य दुई गुणा भन्दा धेरैले वृद्धि हुने बताएका छन् । यसका साथै रसिया रासायनिक मलको विश्वको ठूलो निर्यातकर्ता रहेको छ । युद्धले कृषि उत्पादनमा समेत प्रभाव पार्ने स्पष्ट छ ।

सेयर बजार प्रभावित हुने

युद्धसुरु भएपछि पश्चिमा देशहरुले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसी स्टक मार्केट ४५ प्रतिशतले ओरालो लागेको छ । क्रयास हुने स्थितिमा पुगेको स्टक मार्केटलाई केन्द्रीय बैंकको सहायताले केही मात्रामा माथि उठ्न सघाएको छ । रुसको स्टक मार्केट ओरालो लाग्दा बेलायत र जर्मनको स्टक मार्केट पनि क्रमश ३ प्रतिशत र ५ प्रतिशतले घटेको छ । यति मात्रै नभई युद्धले बैंक वित्तिय संस्था र तेल कम्पनीहरुमा पनि प्रभाव पारेको छ ।

कारहरुको मूल्यमा वृद्धि हुने

कार निर्माणमा अत्यावश्यक पर्ने धातुहरु जस्तै निकेल र प्यालिडियमको आपूर्तिमा समस्या आउने छ । निकेल र प्यालिडियमको विश्वभरकै श्रेष्ठ निर्यातकर्ता रहेको रसियामा युद्धपूर्ण वातावरणले विश्वव्यापी चिप अभावलाई बढावा दिने छ जसकारण कार निर्माण, स्मार्ट फोन तथा ल्यापटप निर्माणमा समस्या उत्पन्न हुने छ । यदि रसियाले चीपको आपूर्ति बन्द गरेमा अहिलेको मूल्य भन्दा कारहरुको मूल्यमा वृद्धि हुने विज्ञहरुको भनाई रहेको छ ।

चर्चित कार निर्माता टोयोटा, फोक्सवागन र स्टालेन्टिस कम्पनीहरुको निर्माण हब रहेको रसियामा युद्ध सुरु भएपछि यसले कारहरुको उत्पानमा समस्या उत्पन्न गर्ने छ ।

जीवनयापन पद्धतिमा महंगी बढ्ने

मुद्रास्फीति अहिले सम्मकै उच्च पुगेको समयमा प्राकृतिक ग्यास र कच्चा तेलको मूल्य वृद्धिले युरोपमा वसोवास गर्ने मानिसहरुको जीवनमा थप समस्या निम्त्याउने छ ।

रुसले सन् २०१४ मा युक्रेनमा आक्रमण गरी क्रिमिया हत्याएपछि पश्चिमी देशहरुले आर्थिक प्रतिबन्ध लगाउँदै आइरहेका छन् । हरेक पटक लगाइने प्रतिबन्धले रुसलाई प्रतिरक्षात्मक बनाउँदै गएको रुसी अधिकारीहरुको भनाइ रहेको छ । रुसमा लगाइएका प्रतिबन्धले रुसलाई मात्रै प्रभावित नपारी सारा विश्वलाई नै समस्यामा पार्ने उनीहरुको भनाइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।