रुसी ध्वाजावाहक एरोफोल्टले बेलारुस बाहेकका सबै देशमा उडान निषेध गर्दै

0
Shares

रुसले राष्ट्रिय ध्वाजावाहक एरोफोल्टले सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । एरोेफोल्टले छिमेकी राष्ट्र बेलारुस बाहेकको अरु सबै देशमा उडान निषेध गर्ने भएको हो ।

एरोफोल्टले एक विज्ञप्ति जारी गर्दै मार्च ८ तारेखबाट अल्पकालीन समयको लागि उडान बन्द गरेको बताएको छ । आन्तरिक उडान यथावत रहने तथा बेलारुसको उडान पनि सञ्चालनमा आउने तर अरु देशमा अन्तर्राष्ट्रिय उडान सञ्चालन नगर्ने विज्ञप्तिमा उल्लेख छ । यसअघि एससेभेन र रोजाभियाटसिया कै सहायक कम्पनी पेबोडाले रुसमाथि लगाइएका प्रतिबन्धकै कारण उडान बन्द गरेको थियो ।

फेबु्रअरी २४ तारेखमा रुसले युक्रेनमा विशेष सैनिक अपरेशन सञ्चालन गरेपछि सुरु भएको युद्धको ११ दिन बितिसक्दा सम्म पनि युद्ध रोकिएको छैन । युद्ध कायमै रहेका बेला युरोपेली राष्ट्रहरु, अमेरिका, बेलायत, जापान, क्यानडा लगायतका देशहरुले रुसमाथि प्रतिबन्ध लगाइरहेका छन् । विभिन्न देशहरुले एयरस्पेसमा प्रतिबन्ध लगाएपछि रुसले उडान नै बन्द गरेको हो ।

धेरैजसो रुसी प्लेनहरु लिजमा रहेको र पश्चिमा देशहरुले लगाएका प्रतिबन्ध थपिँदै जाँदा लिजमा प्लेन नदिने अवस्था सिर्जना हुनसक्ने रुसी नागरिक उड्डयन विभाग, रोजाभियाटसियाले सुझाएको थियो । यसैकारण कार्गो र प्यासेनजर प्लेनहरुको उडान निषेध गरिएको हो ।

रोजाभियाटसियाले दिएको सुझावलाई रुसी ध्वाजावाहकले लागू गरेको थिएन र पछिल्लो समयमा प्रतिबन्ध नलगाइएका देशहरुमा उडान भर्दै आएको थियो । तर आधा भन्दा धेरै प्लेन लिजमा लिई सञ्चालन गरिरहेको हुँदा, प्लेन जफत हुने डरमा रुसी ध्वजावाहकले उडानमा प्रतिबन्ध लगाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।