अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च

0
Shares

अमेरिका र युरोपेली राष्ट्रहरुले रुसबाट गरिने तेल आयातमा प्रतिबन्ध लगाउने भनेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च भएको छ ।

मंगलबार बे्रन्ट क्रुडले १२५ अमेरिकी डलर प्रति ब्यारलमा कारोबार गरेको छ । भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आई)ले १२० प्रति ब्यारलमा कारोबार गरेको छ । यो मूल्य १४ वर्ष यताकै उच्च रहेको छ ।

फेब्रुअरी २४मा रुसले युक्रेन विरुद्ध विशेष सैनिक अपरेशन सञ्चालन गरेपछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो । युद्ध सुरु गरेको भन्दै अमेरिका, युरोपियन देशहरु लगायतका देशहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाउँदा तेलको मूल्यमा वृद्धि भएको हो ।

रुस कच्चा तेल उत्पादनमा विश्वकै तेस्रो ठूलो राष्ट्र रहेको छ । रुसले युद्ध कायमै रहँदा पनि प्रति दिन ७० लाख व्यारल तेल अन्तराष्ट्रिय बजारमा पठाउने गरेको छ । तर अन्य देशहरुले रुसले गर्ने तेल निर्यातमा प्रतिबन्ध लगाउने भनेसँगै तेलको अभाव सिर्जना हुँदा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च भएको छ ।

केडिया कमोडिटिजका निर्देशक अजय केडियाले युद्ध नरोकिए सम्म कच्चा तेलको मूल्य १५६ डलर प्रति व्यारल देखि १८५ डलर प्रति व्यारल हुन सक्ने बताएका छन् ।

विश्व बजारमै रुसबाट गरिने तेल आयातमा रोक लगाए कच्चा तेलको मूल्य २०० डलर प्रति व्यारल पुग्न सक्ने विश्लेषकहरुको भनाइ रहेको छ । त्यसैगरी रुसका उप–प्रधानमन्त्रीले कच्चा तेलको मूल्य ३०० डलर प्रति व्यारल पुग्न सक्ने चेतावनी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।