अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छैन, निजी क्षेत्रलाई अशिंयार बनाई काम गर्छौ :अर्थमन्त्री

0
Shares

अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेका बताएका छन । कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने बताए ।

‘गत आर्थिक बर्ष ०७७–७८ को पहिलो ६ महिनामा मूल्यवृद्धिको दर ३.५६ प्रतिशत बिन्दुमा थियो । चालू आवको शुरुबाटै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टील तथा स्टीलजन्य बस्तुलगायको निरन्तर मूल्य वृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपी, चालू आवको मध्यावधि समिक्षा गर्दा मूल्यवृद्धि दर ५.०३ प्रतिशतमा रही बाञ्छित सिमा भित्रै रहेको छ’ उनले भने।

गत बर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सतप्रतिशत बढेको, खाने तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै ७० प्रतिशतसम्म बढेको जानकारी उद्योगीले नै दिएको, प्लास्टिक, स्टील र स्टीलजन्य बस्तुको अन्तर्राष्ट्रिय मूल्य पनि ५० देखी ६० प्रतिशत बढेको तथ्यांक देखाउँदै उनले भने, ‘यसरी अन्तर्राष्ट्रिय भाउ बढ्दा हामीले भुक्तानी गर्ने रकम बढ्न गई शोधानान्तरमा चाप परेको हो । यद्यपी, हामीले आयातमा कडाई गर्ने नीति लिएर शोधानान्तर घाटाको हालको स्थितिलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौं ।’

घट्दो रेमिट्यान्सको समस्या समाधान गर्न हुण्डी कारोबारलाई नियमन गर्न थालेको तथा क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायतका गैरकानूनी आर्थिक क्रियाकलाप रोक्न प्धानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी प्रहरी, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागलगायतको समन्वयमा क्रियाशील भइरहेको उनले बताए ।

चालू आर्थिक बर्षमा निर्यात व्यापारमा ठूलो सुधार ल्याएको उनले बताए । ‘निर्यातमा निक्कै ठूलो सुधार भएको छ । विगतमा एक खर्बको निर्यात गर्न एक आर्थिक बर्ष कुर्नुपर्ने अवस्था थियो । अहिले त्यसलाई अन्त्य गरिएको छ’ उनले भने, ‘यसपाली ६ महिनामै निर्यातमा ९५.५ प्रतिशत सुधार भई निर्यात एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म निर्यात झन् सुधार भई एक खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।’

कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा गत बर्ष माघ मसान्तसम्म ८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा निर्यातको हिस्सा बढाएर १०.२९ प्रतिशत पु¥याइएको उनले जानकारी दिए । त्यस्तै कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाउँदै लगिने उनले बताए ।

निजी क्षेत्रलाई अशिंयार बनाई काम गर्ने

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई साझेदार नभई अशिंयार बनाई आर्थिक विकासका क्षेत्रमा काम गर्ने बताए । ‘देशको अर्थतन्त्रमा निजी क्षेत्रको ७२ प्रतिशत योगदान छ । यस्तो योगदान गर्ने क्षेत्रलाई सरकार अशिंयार बनाई काम गर्न चाहन्छ’ उनले भने । उनले पोखरामा कम्तीमा ५ दिनसमम पर्यटकहरु बस्नैपर्ने गरी पूर्वाधार विकास गर्न पनि आग्रह गरे । त्यस्तै पोखरामा आन्तरिक पर्यटक बढी हुने भएकाले देशका अन्य सहरसँग पोखराको दुरी छोटो हुने गरी पूर्वाधार विकास गर्ने योजना बनाइरहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री र म पुँजीगत खर्च बढाउन निरन्तर लागीपरेका छौं

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन ।

अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए । ‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्री र म पनि चिन्तामा छौं’ उनल भने, ‘प्रधानमन्त्रीले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ । मैले त बुधबार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरी पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’

उनले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताए । ‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन’ उनले भने । प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले बताए ।

पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हाँसिल नभएको उनले बताए । गत बर्ष पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले. भने, ‘गत बर्षको माघ मसान्तसम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो बर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याई बजेट कार्यान्वयन नै ढिला हँुदा पनि गत बर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ’ उनले भने ।

केही आयोजनाको काम सम्पन्न भएपनि भुक्तानी गर्न बाँकी रहेकाले पँुजीगत खर्च लक्ष्यअनुसार नदेखिएको उनले बताए । आर्थिक बर्षको अन्त्यसम्ममा ९० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएको र त्यसमा आफु आशावादी रहेको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।