आयातमा मार्जिन सधैंका लागि राखिएको होइन, स्थिति सहज हुनासाथ विस्थापित गर्छौं: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन । आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार अशुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए ।

‘देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’

उनले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सृजित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठि प्रभावकारी हुने विश्वास लिएको बताए । त्यस्तै बस्तु आयातमा गरिएको बर्गीकरण सम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठिका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उनले निर्देशन दिए ।

उनले भन्सार कार्यालयहरुमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धि निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडी बढ्न सबै कर्मचारीलाई उनले निर्देशन दिए । माघ मसान्तसम्मको लक्ष्य भन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उनले खुसी व्यक्त गरे ।

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईका बाबजुत तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी दिए । यो गत बर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो ।

सो अवसरमा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुसी व्यक्त गरे । ‘कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको छ । हामीले माघ मसान्तसम्म १ खर्ब ३१ अर्बको निर्यात गरेका छौं’ उनले भने, ‘तर, हामी यतिमा रोकिनु हुँदैन । प्रत्येक बर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा जानुपर्छ ।’

उनले सबै कर्मचारीलाई मेहनत गरेर राजस्व प्रशाशन र राजस्व परिचालनमा उत्कृष्ट काम गर्न निर्देशन दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।