नियामकीय व्यवस्था पालना नगर्ने १४ बैंक राष्ट्र बैंकको कारवाहीमा, कुन बैंकलाई के कारवार्ही ?

0
Shares

नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा नियामकीय व्यवस्था पालना नगर्ने १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमास अवधिमा नियमनको ‘लुप होल’ खोज्दै निर्देशन विपरित कारोबार गरेपछि ती बैंकहरु कारवाहीमा परेका हुन् ।

राष्ट्र बैंकले प्रभु बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबीआई बैंक, मेगा बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्सियल बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंकलाई पनि कारवाही गरेको हो ।

कारवार्हीमा परेका अधिकांश बैंकले ब्याजदर नीति उल्लंघन गरेका छन् भने केही अन्य व्यवस्था पालना नगरेपछि कारवाही भोग्न बाद्य भएका हुन् । प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात कायम नगरेका कारण देखाउँदै राष्ट्र बैंकले १ लाख ८० हजार ३४० रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले अन्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ) लाई सचेत गराएको छ । यस अवधिमा नेपाल बैंक २ पटक राष्ट्र बैंकको सुपरिवेक्षणिय कारवार्हीमा परेको छ । नेपाल बैंकले संस्थागत मुद्दती निक्षेपमा तोकिएको नियम विपरित बढी ब्याज दिएको र एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना नगरेपछि नेपाल बैंकलाई सचेत गराइएको हो । राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई बोलाएर सचेत गराएको छ ।

यस्तै थप १० बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल एसबीआई बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, र सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ) लाई सचेत गराएको छ । यी बैंकहरुले ब्याजदर नीति उल्लंघन गरेपछि बैंकका सीइओहरुलाई सचेत गराएको छ । ती बैंकहरुले बोलकबोलका आधारमा संकलन हुने संस्थागत मुद्दतीको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाउने नियम भएपछि छोटो समयमा नै परिवर्तन गर्दै उल्लंघन गरेका हुन् । यसरी ३ महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गर्दै नियम विपरित ब्याजदर परिवर्तन गर्ने बैंकहरुलाई राष्ट्र बैंकले दोस्रो पटक गल्ती नदोहोर्याउन सचेत गराइएको छ ।

उता, स्टयाण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक पनि ब्याजदर नीति उल्लंघन गर्दा कारवाहीमा परेका छन् । ती बैंकहरुले कुल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर (स्प्रेडदर) ५ प्रतिशत बिन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था कायम गरेका थिएनन् । नियम उल्लघंन गरेपछि यी बैंकका सीइओहरुलाई पनि केन्द्रीय बैंकले सचेत गराएको छ । यी बैंकहरुले दोस्रो पटक यस्तो गल्ती नगर्ने प्रतिवद्धता गरेको उल्लेख गरिएको छ ।

 

नियम पालना गर्नेमा यी १३ बैंक देखिए

चालु आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २७ बैंकमध्ये १३ वटा बैंक नियामकीय व्यवस्था पालना गर्नेमा देखिएका छन् । ती बैंकहरुमा बैंक अफ काठमान्डू, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, सिभिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, माछापुच्छे बैंक र सानिमा बैंक रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।