एक सातामा बैंकहरुमा दुई अर्ब मात्र निक्षेप थपियो, कर्जा विस्तार एक अर्ब

0
Shares

चालु आर्थिक वर्षको चैत्र महिनाको दोस्रो सातामा वाणिज्य बैंकहरुमा दुई अर्ब मात्र निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले एक अर्ब कर्जा विस्तार गरेका छन ।

चैत्र महिनाको पहिलो सातमा बैंकहरुको निक्षेप तथा कर्जा दुवै घटेको थियो । पहिलो सातामा निक्षेप ५ अर्ब तथा कर्जा लगानीमा ४ अर्बले गिरावट आएको थियो । चैत लागेयता वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले घटेको छ भने कर्जा पनि ३ अर्बले नै घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत्र १४ गतेसम्म बैंकहरुले ४३ खर्ब ३० अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ७० अर्ब कर्जा विस्तार गरेका छन । गत फागुन मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ३३ अर्ब निक्षेप उठाएर ४१ खर्ब ७२ अर्ब कर्जा विस्तार गरेका थिए ।

बैंकहरुबाट निक्षेप घटेको मात्र नभई कर्जा लगानीमा समेत नियन्त्रण भएको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि भएकाले नयाँ निक्षेप लिदा समेत कर्जा दिने अवस्था नभएपछि कर्जा प्रवाह रोकिएको छ । त्यस्ता बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ ।

चालु आर्थिक सुरु भएपछि कोरोनाले ठप्प भएको अर्थतन्त्रले गति लिन सुरू गर्यो । आर्थिक गतिविधिमा सुधार आयसँगै कर्जाको माग पनि उच्च भयो । सोही अनुसार बैंकहरुले कर्जा लगानी गर्दै जाँदा वित्तीय क्षेत्रमा तरलताको समस्या देखियो ।

चालु आर्थिक वर्षको दोस्रो महिना देखि सुरु भएको तरलता अभावको समस्या झनै जटिल बन्दै कर्जा लगानी योग्य रकमको अभाव समेत देखिन थाल्यो । तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव भएपनि बैंकहरुले कर्जा विस्तार नै रोकेको अवस्था थियो ।

सरकारले पूँजीगत खर्च नगर्ने तथा बैंकहरुको कर्जा आयातका लागि मात्र परिचालन भएपछि तरलता समस्या झने जटिल अवस्था पुगेको थियो । चालु आर्थिक वर्ष सुरु भएदेखि नेपाल राष्ट्र बैंकले ८५ प्रतिशत कायम गर्नुपर्ने पूँजी, कर्जा तथा निक्षेप अनुपातको सट्टामा कर्जा निक्षेप अनुपात (सीडी) लागू गर्यो । केन्द्रीय बैंकले लागू गरेको कर्जा निक्षेप अनुपातको सीमा ९० प्रतिशत तोकेको छ ।

चालु आर्थिक वर्षको सुवातदेखि नै कसिलो अवस्था रहेको बैंकहरुको औषत कर्जा निक्षेप अनुपात चैत्र महिनामा पनि ९० भन्दा माथि नै रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।