इजरायलले निर्माण क्षेत्रमा करिब एक हजार नेपाली श्रमिक लैजाने

0
Shares

नेपालीहरुको रोजगारीका लागि आकर्षक गन्तब्यका रुपमा रहेको इजरायलले निमार्ण क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । इजरायलले झण्डै एक हजार नेपाली कामदार लैजाने भएको हो ।

इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने सन्दर्भमा आवश्यक छलफल भइरहेको विभागका निर्देशक तथा इजरायल शाखाका प्रमुख डम्बर बहादुर सुनुवारले बताए । उनका अनुसार यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इजरायली पक्ष र निमार्ण क्षेत्रका कानुनी रुपमा जिम्मेवार निकायका प्रतिनिधिहरुबिच एक चरणमा भर्चुअल छलफल सम्पन्न भइसकेको छ ।

“इजरायल, श्रम मन्त्रालय र निर्माण क्षेत्रका प्रतिनिधिहरुको उपस्थीतिमा एक चरणको जुम मिटिङ सम्पन्न भइसकेको छ ।” निर्देशक सुनुवारले भने “यस छलफलमा हामीले केन्द्रमा राखेको विषय भनेको कुनैपनि श्रमिकहरुको हित, सुरक्षा, जोखिमका क्षेत्रहरु र उसले पाउने सेवा सुविधा हो ।”

यसका साथै छनोट प्रकृया कस्तो हुन्छ, निमार्ण क्षेत्रमा इजरायल पठाउने कामदारलाई चाहिने योग्यताहरु कस्तो तोक्ने र उमेर उमेर समुहको बारेमा थप छलफल अघि बढीरहेको छ । नेपाल सरकारका तर्फबाट नेपाली श्रमिकहरुले प्राप्त गर्ने सेवा सुविधा लगायत समग्र पक्षमा छलफल भइरहेको निर्देशक सुनुवारले बताए ।

यस अघि पनि गत साउन १२ गते वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा १ हजार कामदार माग गरेको थियो । जसमा महिला ७० प्रतिशत र पुरुष ३० प्रतिशत माग गरेको थियो । उक्त समय आवेदन दिएका मध्य १ हजार १७५ जना कामदार छनोट भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।