जीवन बीमाको पहुँचमा ३५ प्रतिशत धेरै नेपाली

0
Shares

फागुन मसान्तसम्ममा जीवन बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७७।७८ को फागुन मसान्तसम्ममा जीवन बीमाको पहुँच ३५.४४ प्रतिशत पुगेको हो ।

गत आव २०७६।७७ को यसै अवधिमा जीवन बीमाको पहुँच २६.३० प्रतिशत रहेको थियो । पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच ९ प्रतिशतले बढेको देखिएको छ ।

सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् । म्यादी जीवन बीमाको हटाउने हो भने जीवन बीमाको पहुँच ३२.१६ र म्यादी जीवन बीमा तथा वैदेशिक रोजगार दुबैलाई अलग गर्दा यसको पहुँच २९.१७ प्रतिशत रहेको छ ।

फागुन मसान्तसम्मको प्राप्त संख्याको आधारमा पछिल्लो एक वर्षमा २९ लाख ९१ हजार ७६० जना नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आवको फागुन मसान्तसम्म ८१ लाख ८७ हजार ९६८ जना नेपाली बीमाको दायरामा थिए । चालू आवको फागुन मसान्तसम्म त्यो संख्या १ करोड ११ लाख ७९ हजार ७२८ पुगेको तथ्यांकमा उल्लेख छ । विसं २०७८ पुस मसान्तमा यस्तो संख्या १ करोड ५ लाख ३४ हजार ५२९ थियो । पछिल्लो २ महिनामा ६ लाख ४५ हजार १९९ जनामा जीवन बीमाको पहुँच बढेको हो ।

सरकारले चालू आवको असार मसान्तभित्र ३३.३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो । तर, फागुन मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको समितिको तथ्यांक छ । चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान छ । सम्भावित दोहोरोपन हटाउने हो भने सरकारी लक्ष्य बराबरको जनसंख्यामा बीमाको पहुँच पुगेको छ । एउटै व्यक्तिले पनि २ वा त्यसभन्दा बढी पटक बीमा गरेका पनि हुन्छन् । सोही अवस्थालाई दृष्टिगत गर्दै कुल बीमालेखमा ५ प्रतिशत घटाएर बीमाको गणना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यसैअनुसार बीमाको पहुँच गणना गरिएको छ ।

समितिका अनुसार हालसम्म १ करोड ११ लाख ७९ हजार २८वटा जीवन बीमालेख जारी भएका छन् । त्यसमा ५ प्रतिशत बीमालेखको संख्या घटाउँदा १ करोड ६ लाख ६३ हजार ३०७ वटा हुन आउँछ । राष्ट्रिय जनगणना २०७८ को अनुसार जनसंख्या (२ करोड ९१ लाख) को आधारमा ३६.६४ प्रतिशतभन्दा बढी नेपालीमा बीमाको पहुँच पुगेको देखिन्छ ।

नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झन्डै ५ दशकको समयसम्म यसको दायरा बढ्न भने सकेको थिएन । तर, पछिल्ला ४।५ वर्ष यता भने बीमाको बजारसँगै पहुँच पनि ह्वात्तै बढेको छ । ५ वर्षअघि बीमाको पहुँच ७ प्रतिशत नेपालीमा मात्र पुगेको थियो ।

पछिल्लो समय म्यादी बीमा गर्ने तथा वैदेशिक रोजगारी जाने श्रमिकको अनिवार्य बीमा नीतिले पनि बीमा गर्ने व्यक्तिको संख्या बढ्दा पहुँच पनि उच्च मात्रामा बढेको हो । पछिल्लो १ वर्षमा आजीवन, सावधिक तथा म्यादी बीमा गर्ने व्यक्तिको संख्या झन्डै ३८ प्रतिशतले बढेको छ । सावधिक बीमा गर्ने व्यक्तिको संख्या पनि उच्च मात्रामा बढेको छ । फलस्वरूप बीमाको पहुँच पनि उच्च मात्रामा बढेको हो ।

फागुन मसान्तसम्म १० लाख ८८ हजार ५९० वटा म्यादी बीमालेख जारी भएका छन् भने वैदेशिक रोजगार बीमालेखको संख्या ८ लाख ५१ हजार ३१४ रहेको छ । वैदेशिक रोजगार बीमालेखकोको संख्या पद्धिल्लो एक वर्षमा १७.६१ प्रतिशतले बढेको छ ।

फागुन मसान्तसम्मा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क रकम १२.१७ प्रतिशतले बढेर ९२ अर्ब २० लाख ३९ लाख रुपैयाँ पुगेको छ । देशभर सञ्चालित १९ जीवन बीमा कम्पनीको शाखा संख्या ३ हजार ३२९ रहेको छ । गत फागुनमा २ हजार ८९१ रहेकोमा एक वर्षमा ४३८ वटा शाखा विस्तार भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।