सरकारद्धारा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन

सरकारद्धारा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले पदबाट निलम्बन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो ।

मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको अधिकार दिइएको छ ।

आर्थिक संकट गहिरिँदै गइरहेको अवस्थामा सरकारले केन्द्रीय बैंकका गभर्नरलाई निलम्बन गरेको हो। आज बिहान राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका थिए । राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएको भन्दै सार्वजनिक रुपमा नै अभिब्यक्ति दिएका थिए ।

अधिकारी अधिकारी नेपाल राष्ट्र बैंकका १७औं गभर्नरको रुपमा विसं २०७६ चैत्र २४ गते नियुक्त भएका थिए । अधिकारीमाथि लागेको आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । अन्य सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेक छन् । समितिलाई अधिकारीमाथि लागेको आरोपबारे छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत २०७८, शुक्रबार २० : ३४ बजे