बैंक /वित्तीय संस्थाले आगामी महिनामा पनि ब्याजदर नबढाउने

0
Shares

बैंक तथा वित्तीय संस्थाले बैंशाख महिनामा पनि ब्याजदर नबढाउने भएका छन् । बैंक/वित्तीय संस्थाका छाता संगठनहरुले निर्णय गर्दै आगामी महिनामा पनि चैत कै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतबार सम्पन्न बैंठकले आगामी महिनाका लागि पनि ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो । हाल कायम रहेको मुद्दती निक्षेपको उच्चतम ब्याजदर ११.०३ प्रतिशत बैंशाख महिनाका लागि पनि कायम गर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले जानकारी दिए ।

“ब्याजदर बढाएर पनि नयाँ निक्षेप नआउने भएकाले परिवर्तन नगर्ने निर्णय भएको हो,” उनले भने,“बढाउने नबढाउने विषयमा अन्य सहभागिहरुले पनि केही नभनेपछि स्थिर राख्ने निर्णयमा सबै सहमत भएको हो ।”

बैंकर्स संघले ब्याजदर नवढाउने निर्णय गरेपछि विकास बैंकर्स संघले पनि ब्याजदर नवढाउने भएको छ । विकास बैंकहरुले पनि बैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.५५ प्रतिशत नै कायम गर्ने बताउदै डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्यूमन पाख्रेलले भने,“बाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएपछि विकास बैंकहरुको पनि बढ्दैन ।”

त्यसैगरी फाइनान्स कम्पनीहरुले पनि आगामी महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बाणिज्य तथा विकास बैंकले ब्याजदर नबढाएपछि फाइनान्स कम्पनीले पनि नबढाउने नै निर्णय हुने एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । फाइनान्स कम्पनीहरुले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर चैत महिनाकै ११.७१ प्रतिशतलाइ निरन्तरता दिएका हुन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।