सरकारी खातामा ३३५ अर्ब नगद मौज्दात, ८ महिनामा १३५ अर्ब थपियो

0
Shares

नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३५ अर्ब ३३ करोड नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ फागुन मसान्तमा यस प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत गरेर राष्ट्र बैंकमा रहेका सरकारी खातामा ३ खर्ब ३५ अर्ब ३३ करोड नगद मौज्दात रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब १८ करोड रहेको थियो । चालु आर्थिक वर्ष सुरु भएयताको आठ महिनाको अवधिमा सरकारी खातामा एक खर्ब ३५ अर्ब बढी रकम थपिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा संघीय सरकारको कुल ६ खर्ब ७५ अर्ब ३० करोड खर्च गरेको छ ।

यस अवधिमा चालु खर्चतर्फ ५३८ अर्ब ४४ करोड, पुँजीगत खर्चतर्फ ७७ अर्ब १५ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५९ अर्ब ७१ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ६ खर्ब २७ अर्ब ९० करोड र गैर कर राजस्व तर्फ ५६ अर्ब ८० करोड परिचालन भएको केन्द्रीय बैंकको भनाई छ ।

समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत ३५ अर्ब र विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड परिचालन गरी ८९ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

फागुनसम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति १ खर्ब ९ अर्ब २४ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ७७ अर्ब ९९ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३१ अर्ब २४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ६३ अर्ब ७९ करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।