वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

0
Shares

नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चाल्नुभएसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो ।

निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो ।

उक्त उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्नसक्ने गरी अनुमति पाएको छ ।

निगमले व्यावसायिक योजनाअनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा नियमित उडान सुरु गर्ने भएको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति भने पाएको थिएन ।

मन्त्री आलेले उडान अनुमतिका लागि पहल चालेपछि अब वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले उडान भर्ने भएको हो । यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।