बैंकहरुको नाफा साढे १२ प्रतिशतले बढ्यो, फागुनसम्ममा कमाए ४७ अर्ब

0
Shares

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा बैंकहरुले १२ प्रतिशत भन्दा धेरैले नाफा बढाएका छन् ।

बैंकहरुले अनुत्पादक तर छिटो प्रतिफल आउने क्षेत्रमा उल्लेख्य लगानी गरेको हुनाले कोरोना माहामारीको समयमा नाफा बढाएका हुन् ।

चालु आवको फागुन सम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेका छन्।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४२ प्रतिशतले धेरै हो । गत आवको फागुनसम्ममा बैंकहरुले ४१ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आर्थिक वर्षको माघ महिनामा मात्र बैंकहरुले ६ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेका थिए । फागुन महिनामा बैंकहरुको नाफा माघको नाफाको तुलनामा ९.०५ प्रतिशतले बढेको छ । फागुन महिनामा बैंकहरुले ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

कोरोनाका कारण अस्तव्यवस्त भएको अर्थतन्त्रमा चालु आर्थिक वर्ष सुरु भएपछि कर्जाको माग झनै उच्च हुन थाल्यो । कोरोनाका कारण बैंकिङ प्रणालीको कर्जाको ब्याजदर समेत एकल अंकमा झर्यो । त्यसले सेयर बजार तथा जग्गाको मूल्यमा उच्च सुधार समेत आयो । घरजग्गा तथा सेयर बजारमा बैंकहरुले आफैले पनि लगानी गरेर कमाए ।

तर, चालु आवको सुरुवात देखिनै बैंकहरुमा तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या देखियो । सो समस्या हाल सम्ममा पनि कायम नै छ । यस्तो अवस्थामा पनि बैंकहरुको नाफा वृद्धि कायम रहनु समान्य होइन । पछिल्लो समयमा सरकार तथा नेपाल राष्ट्र बैंकले आयातमा समेत केही कडाइको गरेको भएपनि बैंकहरको आम्दानीमा खासै असर गरेको देखिदैन । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि बढेको ब्याजदरका कारण पनि बैंकहरुको नाफा बढेको हो ।

फागुन महिनासम्ममा ३ अर्ब भन्दा धेरै नाफा गर्नेमा ग्लोबल आइएमई, नबिल र एनआइसी एसिया बैंक रहेका छन् । यी मध्ये पनि सबैभन्दा धेरै नाफा गर्नेमा ग्लोबल आइएमइ बैंक रहेको छ । जनता बैंकलाई गाभेपछि ग्लोबल आइएमई बैंक अन्य बैंकको तुलनामा ठुलो पनि छ । ग्लोबल आइएमई बैंकले फागुनसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

यो अवधिसम्ममा सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले फागुनसम्ममा ७३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३४ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको फागुन सम्ममा ६ बैंकहरुको नाफा घटेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको फागुसम्ममा नबिल बैंकको खुद नाफा ८ करोड ६९ लाख रुपैयाँ घटेको हो । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको २७ करोड रुपैयाँले नाफा घटेको छ । फागुनसम्ममा एभरेष्ट बैंक, सनराइज बैंक, प्रभू बैंक र सानिमा बैंकको नाफा घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ वैशाख २०७९, आइतबार  १८ : ५० बजे