पुर्नवहाली भए लगत्तै बैंकर्ससँगको समसामयिक छलफलमा गभर्नर

0
Shares

सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि पुर्नवहाली भएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्ससँग छलफल गरेका छन् । गभर्नर अधिकारी ११ दिनपछि केन्द्रीय बैंक पुगेपछि अर्थतन्त्रको पछिल्लो अवस्थाको बारेमा बुझ्नका लागि छलफल गरेका हुन् ।

गभर्नर अधिकारीले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी एसोसिएसनका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर सहित विभागीय प्रमुखहरुको सहभागिता थियो ।

गभर्नर अधिकारीले पछिल्लो समयमा आयात नियन्त्रण गर्नका लागि चालिएका कदमहरुको प्रभावका विषयमा छलफल गरिएको बताए । उनले वस्तु आयातमा गरिएको रोक, प्रतीतपत्र खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था तथा प्रतीतपत्र नै नखोल्ने लगायतका विषयमा छलफल केन्द्रीत रहेको बताए ।

“उच्च आयातका कारण विदेशी सञ्चितिमा आएको गिरावट नियन्त्रणका लागि चालिएका कदमको समिक्षाका लागि बैंकहरुसंग छलफल गरिएको हो,” उनले भने,“व्यवसायीहरुसंग काम गर्ने भएकाले प्रतीतपत्रको सन्दर्भमा बैंकहरुसंग छलफल गरेर पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको हो ।” आयातमा गरिएको नियन्त्रणले बजारका आर्थिक क्रियाकलापमा कस्तो प्रभाव पारेको छ भन्ने पक्षमा पनि कुराकानी भएको उनले बताए ।

नेपाल सरकारले गभर्नरको कार्यक्षमतामा प्रश्न गर्दै छानविन समिति गठन गरेपछि निलम्बनमा परेका थिए । करिब ११ दिन निलम्बनमा रहेका गभर्नर अधिकारी सर्वोच्च अदालतको आन्तरिक आदेशपछि बुधबार पुन नियमित कार्यालय पुगेका हुन । कार्यालय सुचारु गरेसंगै उनले अर्थतन्त्रको पछिल्लो अवस्था र आर्थिक क्रियाकलापको जानकारी लिनका लागि बैंकहरुसंग छलफल गरेका हुन ।

सर्वोच्च अदालतले मंगलबार गभर्नर निलम्बनको पत्रचार तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । साथै सर्वोच्चले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई तत्कालका लागि निलम्बन नगरी सरकारलाई कारण देखाउन समेत आदेश दिएको छ । सर्वोच्चले दुबै पक्षको छलफलका लागि आगामी १३ गते बोलाएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश सहित छलफलका लागि दुबै पक्षलाई बोलाउने निर्णय गरेको हो । आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै गभर्नर अधिकारी सर्वोच्च पुगेका थिए ।

बुधबार अदालतका अन्तरिम आदेश सहित बिहान साढे ११ बजे कार्यालय पुगेका गभर्नरलाई कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । कर्मचारकिो स्वागतमा गभर्नर अधिकारीले राम्रो काम गर्दै गर्दा पनि यस्ता खालका आरोह अवरोह आउने भएकाले आत्मबल कमजोर बनाउन नहुने बताएका थिए । यस्ता अवरोधकै कारण विचलित नहुने समेत उनले सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।