साढे २८ प्रतिशतले बढ्यो व्यापार घाटा, ९ महिनामा १३ खर्ब नाघ्यो

0
Shares

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) मुलुकको व्यापार घाटा साढे २८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार नौ महिनामा नेपालका व्यापार घाटा १३ खर्ब नाघेको छ ।

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा  बाह्र खर्ब छ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

 निर्यात बढ्यो

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।

चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा  ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।

दुई खर्बको पेट्रोलियम पदार्थको आयात

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

नौ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिम एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो । ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । नौ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल,  ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।

१६२ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ ।

नेपालले भारतसँग मात्रै सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट नौ महिनामा दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मा दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।