कोरोनाले भारतीय अर्थतन्त्रमा पुर्‍याएको असर निर्मुल गर्न १२ वर्ष लाग्ने

कोरोनाले भारतीय अर्थतन्त्रमा पुर्‍याएको असर निर्मुल गर्न १२ वर्ष लाग्ने

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले भारतीय अर्थतन्त्रमा पुर्‍याएको असर सामान्यीकरण हुन एक दशक भन्दा धेरै समय लाग्ने भारतीय केन्द्रीय बैंकले जनाएको छ ।

भारतीय केन्द्रीय बैंक, रिर्जभ बैंक अफ इन्डिया (आरबीआई) ले गरेको आंकलन अनुसार कोभिड अवधिभर भारतलाई भारु ५२ लाख करोड बराबरको घाटा भएको छ । यो घाटाले अर्थतन्त्रमा पारेको असर न्युनिकरण गर्न भारतलाई १२ वर्ष लाग्ने आरबीआईद्धारा प्रकाशित एक रिर्पोटमा उल्लेख गरिएको छ ।

सन्  २०२१/२२ को करेन्सी एन्ड फाइनान्स नामक रिर्पोटको “स्कार्स अफ द प्यान्डेमिक” अर्थात “महामारीले निम्त्याएका घाउहरु” भन्ने शीर्षकमा कोभिड–१९ का बारम्बारका लहरहरुले भारतीय अर्थतन्त्रमा पारेको असर र त्रैमासिक कुल ग्राहस्थ उत्पादनमा भएको उतार-चढावका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छ ।

कोभिडको पहिलो लहरका कारण प्रभावित भएको आर्थिक वर्ष २०२०/२१ को पहिलो त्रैमासले रिकभरीको बाटो तताउँदै गर्दा आव २०२१/२२ को दोस्रो त्रैमासमा आएको डेल्टा भेरियन्टका कारण अर्थतन्त्र संकटमा परेको थियो । उक्त संकटबाट उभ्रिन नपाउँदै सन् २०२२ को जनवरीमा आएको तेस्रो लहरका कारण अर्थतन्त्र पुनः प्रभावित हुन पुग्यो ।

कोभिड–१९ संक्रमणका तीन लहरहरुले अर्थतन्त्रमा परेको असरबाट मुलुक रिकर्भर हुन नपाउँदै फेब्रुअरी २४ मा रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गर्‍याे । युद्धका कारण आपूर्ति श्रृङखला अवरोध हुँदा विश्वव्यापी रुपमा खाद्यान्न तथा इन्धनको मूल्य वृद्धि भयो र आकाशिएको मुद्रास्फीति थप मौलाउँदै जाँदा त्यसको असर घरेलु उत्पादनमा परेको रिर्पोटले जनाएको छ ।

महामारीको असर क्षणिक भएपनि यसले संरचनात्मक आर्थिक प्रणालीमा पारेको प्रभावले गर्दा मध्यावर्ती कालको लागि गरिएको आर्थिक वृद्धि प्रक्षेपणमा परिवर्तन आउन सक्ने रिपोर्टमा व्यक्त गरिएको छ ।

प्रि-कोभिड समयमा भारतको आर्थिक वृद्धि दर ६.६ प्रतिशत रहेको थियो । सन् २०१२/१३ देखि २०१६/१७ सम्म आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको छ । सन् २०२०/२१ को आर्थिक वृद्धि दर नकारात्मक रहेको छ । यसैकारण सन् २०२१/२२ को आर्थिक वृद्धि दर ८.९ प्रतिशत, आव २०२२/२३को आर्थिक वृद्धि दर ७.२ प्रतिशत र त्यसपछिका वर्षमा ७.५ प्रतिशतका दरले आर्थिक वृद्धि दर प्रक्षेपण गर्दा सन् २०३४/३५ सम्ममा कोभिडले पारेको असर न्युनिकरण गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी सन् २०२०/२१, २०२१/२२, २०२२/२३को लागि उत्पादन घाटा क्रमश भारु १९.१ लाख करोड, १७.१ लाख करोड र १६.४ लाख करोड प्रक्षेपण गरिएको छ । कोभिड महामारीको समयमा महामारीसँग जुद्न लिइएका ठोस कदमहरुले अर्थतन्त्रको दिगो वृद्धिमा सघाउने रिर्पोटमा उल्लेख गरिएको छ ।

यसैगरी कोभिडको समयमा आएका सकरात्मक व्यवहारिक तथा प्राविधिक परिवर्तनहरुले कोभिड पछिको समयमा अर्थतन्त्रको बलियो, प्रभावकारी, न्यायसंगत, पारदर्शी र स्वच्छ जग बसाउन सहयोग गर्ने रिर्पोटले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार १५ : १९ बजे