वाणिज्य बैंकहरुको १४% संस्थापक सेयर विदेशी संस्थासँग, स्वदेशीको ३०.६ प्रतिशत

0
Shares

वाणिज्य बैंकहरुमा एक दर्जन विदेशी संस्थाको लगानी रहेको छ । वाणिज्य बैंकहरुमा रहेको कुल संस्थापक सेयर लगानीमा विदेशी संस्थागत लगानीकर्ताले करिब १४ प्रतिशत हिस्सा रहेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न १२ विदेशी संस्थाहरुले केही वाणिज्य बैंकको संस्थापक सेयरमा लगानी गरेका छन । विदेशी लगानी रहेका वाणिज्य बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नबिल बैंक र नेपाल बंगलादेश बैंकमा विदेशी संस्थागत लगानीकताले संस्थापक सेयरमा लगानी गरेका छन् ।

वाणिज्य बैंकहरुको संस्थापक सेयर कुल १२ विदेशी संस्था, ५०४ स्वेदशी संस्था र २६ हजार भन्दा धेरै व्यक्तिहरुको छ । यसमा विदेशी संस्थाको संस्थापक सेयर हिस्सा १३.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी स्वदेशी संस्थाहरुको संस्थापक सेयरमा लगानी ३०.६ प्रतिशत रहेको छ । वाणिज्य बैंकको संस्थापक सेयरमा सबैभन्दा धेरै हिस्सा व्यक्तिगत संस्थापक लगानीकर्ताको रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको संस्थापक सेयरमा व्यक्तिगत लगानीकर्ताको ५५.५ प्रतिशत हिस्सा रहेको छ ।

वाणिज्य बैंकको संस्थापक सेयर लगानी गर्ने स्वेदशी संस्थाहरुमा कर्मचारी सञ्चय कोषको लगानी धेरै छ । कोषले ११ वाणिज्य बैंकको संस्थापक सेयरमा लगानी गरेको छ । कोषको लगानी वाणिज्य बैंकहरुको कुल संस्थापक लगानीमा ११.३ प्रतिशत हिस्सा रहेको छ । यो लगानी कोषको कुल पुँजीको ५.४ प्रतिशत हो ।

त्यसैगरी वाणिज्य बैंकको संस्थापक सेयर लगानी गर्ने स्वदेशी संस्था नागरिक लगानी कोष हो । कोषले कुल ६ वटा वाणिज्य बैंकको संस्थापक सेयरमा लगानी गरेको छ । कोषको यो लगानी वाणिज्य बैंकहरुको कुल संस्थापक लगानीमा ३.५ प्रतिशत हो । बैंकहरुको संस्थापक सेयर बीमा कम्पनीहरुको पनि लगानी रहेको छ । बैंकहरुको कुल संस्थापक लगानीमा बीमा कम्पनीहरुको मात्र ८.९ प्रतिशत हिस्सा रहेको छ । बीमा कम्पनीहरुले कुल १४ वाणिज्य बैंकको संस्थापक सेयरमा लगानी गरेका छन् ।

चालु आर्थिक वर्षको फगुनसम्ममा २७ वाणिज्य बैंकहरु सञ्चालनमा छन् । सो अवधिमा सञ्चालनमा रहेका विकास बैंकहरुको संख्या १७, फाइनान्स कम्पनीको संख्या १७ र लघुवित्तको संख्या ६६ र एउटा पुर्वाधार विकास बैंक रहेको छ ।

बैंकिङ प्रणालीमा वाणिज्य बैंकहरुको हिस्सा सबैभन्दा धेरै ५४.५ प्रतिशत रहेको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकको १७.६ प्रतिशत रहेको छ भने विकास बैंकको ५.१, फाइनान्स कम्पनीको १.६ प्रतिशत हिस्सा रहेको छ । त्यसैगरी लघुवित्त वित्तीय संस्थाको हिस्सा ४.१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गैरबैंकिङ क्षेत्रबाट बीमा कम्पनीहरुको बैंकिङ प्रणालीमा ५.५ र सहकारी क्षेत्रको ४.५ प्रतिशत हिस्सा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।