विदेशी मुद्रा सञ्चितिको आवश्यकता आयातका लागि मात्र हो ?

0
Shares

वैदेशिक मुद्रा सञ्चिति के हो ? भन्ने प्रश्नको जवाफमा देशको केन्द्रीय बैंकमा रहेको विदेशी मुद्राको निक्षेप भनेर मानिसहरु सजिलै भन्न सक्छन । विदेशी मुद्रा सञ्चितिलाई आधिकारिक रुपमा अन्तराष्ट्रिय सञ्चितिको संज्ञा पनि दिने गरेको पाइन्छ ।

विशेषगरी विश्वव्यापी रुपमा अमेरिकी डलरमा नै व्यापारिक सम्झौता तथा कारोबार हुने हुँदा वैदेशिक मुद्रा सञ्चिति अमेरिकी डलरमा गरिने गरिएको छ । तथापि पाउन्ड स्र्टलिङ, युरो, येन, युवान जस्ता मुद्राको पनि विदेशी सञ्चिति गर्ने गरिएको छ । विदेशी मुद्रा सञ्चितिमा सुनको भण्डारण, विशेष रेखाचित्र अधिकार (एसडीआर) र अन्तरााष्ट्रिय मुद्रा कोष (आईएमएफ) रिजर्भ स्थिति पनि समावेश गरिएको हुन्छ । 

वैदेशिक मुद्रा सञ्चितिको अर्थ थाहा भए पनि यसको प्रयोग र यसले अर्थतन्त्रमा पारेको प्रभाव बारे धेरैलाई थाहा नहुन पनि सक्छ । वर्तमान परिवेशमा वैदेशिक मुद्रा सञ्चितिमा कमी भएकै कारण नेपाल सरकारले विलासी उपभोग्य सामानको ओसारपसारमा प्रतिबन्ध लगाएको छ । यसरी पनि थाहा हुन्छ कि वैदेशिक मुद्रा सञ्चिति सामान आयातको लागि प्रयोग गरिन्छ । तर यसो भन्दै गर्दा मुद्रा सञ्चिति आयातमा मात्रै प्रयोग गरिन्छ भन्ने हुँदैन ।

देशमा कति वैदेशिक मुद्रा सञ्चिति संकलित छ भन्ने आधारमा देशको मौद्रिक नीति निर्माण हुन्छ । अन्तराष्ट्रिय बजारमा कारोबार गर्न मात्र नभई ऋण तिर्नको लागि पनि वैदेशिक सञ्चिति प्रयोग हुने गरेको छ । यसका साथै देशको अर्थतन्त्र कति सबल भन्ने निर्धारण पनि वैदेशिक मुद्रा सञ्चिति कति छ भन्नेमा निर्भर हुन्छ ।

विदेशी पूँजी प्रवाहमा समस्या आउँदा देशमा उपलब्ध भएको विदेशी मुद्रा सञ्चिति प्रयोग गर्न सकिन्छ । नेपाल जस्तो रेमिट्यान्स निर्भर देशमा रेमिट्न्यासमा आएको कमीका कारण नै वैदेशिक मुद्रा सञ्चितिमा कमी आउने गरेको छ । यस्तै बाह्य धक्काबाट देशको अर्थतन्त्रलाई प्रभावित हुन नदिन पनि वैदेशिक मुद्रा सञ्चितिको आवश्यकता पर्छ ।

यसका साथै देशमा संकट उत्पन्न भएको समयमा स्वदेशी मुद्रा कमजोर हुँदा बलियो बनाउनलाई पनि विदेशी मुद्रा सञ्चिति आवश्यक हुन्छ । जस्तैः रुसले युक्रेनमा विशेष सैनिक अप्रेसन सञ्चालन गरेपछि रुसी रुबल अहिले सम्मकै कमजोर अवस्थामा पुग्यो । मुद्राको मूल्य थप अवमूल्यन हुन नदिन रुसी केन्द्रीय बैंकले विदेशी मुद्रा सञ्चिति परिचालन गरेको थियो । पश्चिमा देशहरुले अन्तराष्ट्रिय सबरेन बन्ड डलर मै तिर्न चेतावनी दिएता पनि विदेशी मुद्रा सञ्चिति उच्च हुँदा सबै चुनौतीको सामना गर्न सफल रह्यो ।

यसका साथै बैंकिङ प्रणालीमा सिर्जना हुने तरलता अभावको समस्यालाई न्युनिकरण गर्न पनि विदेशी मुद्रा सञ्चितिको प्रयोग हुँदै आएको छ । तसर्थ, बाह्य धक्काको सामना गर्न, आयातको भुक्तानी गर्न, अन्तराष्ट्रिय ऋण तिर्न र स्वदेशी मुद्राको मूल्य सन्तुलनमा राख्न विदेशी मुद्रा सञ्चितिको प्रयोग गरिन्छ ।

तसर्थ उच्च विदेशी मुद्रा सञ्चिति निक्षेप गर्ने राष्ट्रहरुको अर्थतन्त्र स्थीर र सबल रहने गरेको छ । सन् २००८को वित्तीय संकट पछि राष्ट्रहरुले गर्ने विदेशी मुद्रा सञ्चितिमा क्रमिक रुपमा वृद्धि भएको छ । अप्रिल २०२२ सम्मको तथ्यांक अनुसार चीनको विदेशी मुद्रा सञ्चिति सबै भन्दा उच्च ३ ट्रिलियन ३०१ बिलियन १९६ मिलियन डलर रहेको छ ।

यसैगरी जापानको विदेशी मुद्रा सञ्चिति १ ट्रिलियन ३ सय ५६ बिलियन ७१ मिलियन डलर रहेको छ । छिमेकी राष्ट्र भारतको सञ्चिति ५ सय ९७ बिलियन ७ सय २८ मिलियन डलर रहेको छ । यसैगरी मार्च महिनामा नेपालको विदेशी सञ्चिति ९ बिलियन ६ मिलियन डलर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।