चेक क्लियरिङ्ग तथा अन्तरबैंक भुक्तानी प्रणाली कारोबारको समय सीमामा फेरबदल

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा  परिवर्तन गरेको छ । नेपाल राष्ट्र बैंकले हालै आरटीजीएसको समय सीमा थप गरेपछि एनसीएचएल-ईसीसी र एनसीएचएल-आईपीएस प्रणालीको कारोबार समय सीमामा फेरबदल भएको हो।

शनिबार र आइतबार हुने सार्वजनिक बिदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरु शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी आगामी मंगलबारको दिन देखि लागू हुने छ ।

उक्त व्यवस्था अनुसार एनसीएचएल-ईसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजे सम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ बजे सम्म पेश हुन आएमा चेकहरु सोही दिनमा नै राफसाफ भई अन्तिम सेटलमेन्ट ५ः१५ पछि हुने व्यवस्था गरिएको छ ।

हरेक २/२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्स्प्रेस क्लियरिङ्ग दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्स्प्रेस क्लियरिङ्ग सत्रहरु सञ्चालनमा रहने व्यवस्था गरिएको छ । त्यस्तै रु।२०.३० करोड सम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङ्गको सत्र पनि थप गरी दिउसो ३ बजे सम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी एनसीएचएल-ईपीएस प्रणालीमा साँझको ५ बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा टी प्लस ओ मा नै राफसाफ हुने व्यवस्था गरिएको छ । साथै बिहान ९ बजेदेखि ५ बजे सम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २/२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु प्नि थप गरिएका छन् ।

हरेक कार्यदिनको ५ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरु समेत सोही दिनमा र्फछ्यौट हुने व्यवस्था गरिएको छ । तोकिएको समय सीमा पश्चात प्रणालीमा पेश हुन आएका कारोबारहरु अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने छ भने जाडो महिनामा (कार्तिक १६ गते देखि माघ १५ गते सम्म) आरटीजीएसको समय सीमा सँग मिल्ने गरी एनसीएचएल- आईपीएस प्रणालीको समय सीमा एक घण्टाको लागि कम हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी रिटेल पेमेन्ट स्वीचमार्फत हुने रियल टाइम भुक्तानीलाई थप टेवा पुर्‍याउन बैंकहरु बीच हुने सेटलमेन्टलाई हरेक १ घण्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटक सम्म) गर्ने व्यवस्था गरिएको छ । ग्राहकको खातामा भने उक्त कारोबार रियल टाईममा नै हुने व्यवस्था यथावत नै रहनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।