काठमाडौँको ताजा मतपरिणाम : बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा


काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उनले ४०२ मत प्राप्त गरेका हुन । सुरुआतदेखि नै अग्रता लिनुभएका साहले मतान्तर बढाउँदै लगेका हुन ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरका छन् । उनी साहभन्दा ८३ मतले पछि छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छन् । उनी साहभन्दा २०० मतले पछाडि छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।

अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।

उपप्रमुखमा डङ्गोलको अग्रता
यस्तै महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएकी छन् । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी हुन । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।