‘सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ’


भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएकी छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायात मार्फत ३७ विद्युतीय बस ल्याउन लागिएको बताइन् । तीमध्ये अहिले तीन बस परीक्षणमा रहेको र परीक्षण सकिएपछि बाँकी बस आइपुग्ने उनले बताइन् ।

सरकारले सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग विद्युतीय हुने र आगामी दिनमा यातायातमा विद्युतीय माध्यमको प्रयोग बढाइने उनको भनाइ छ । “पेट्रोलियम पदार्थ अत्यधिक आयातका कारण हुने व्यापार घाटा कम गर्न पनि विद्युतीय सवारीसाधन प्रोत्साहन गर्न खाँचो छ ,” उनले भनिन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पहिले काठमाण्डौं आउँदा ट्रलिबस देखेको भए पनि अहिले त्यसको अवशेषसमेत बाँकी नभएको बताइन । साझा यातायातले पहिले तामझामका साथ ल्याएको विद्युतीय बसको अवस्थाबारे अहिले जानकारी नभएको उनको भनाइ छ । काठमाडौँलगायतका सहरी क्षेत्रको एकीकृत विकासका लागि युटिलिटी करिडोरसम्बन्धी विधेयक अघि बढाइएको उनी बताउँछिन् ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले २० वर्ष पुराना सबै सवारीसाधन चल्न नदिइने व्यवस्थामा परिवर्तन गर्न खोजिएको बताइन् । सवारी साधनको अवस्था सही छ भनी परीक्षण भएका सवारी साधन चल्न दिने गरी विधेयक अघि बढाएको उनले जानकारी दिइन् । मन्त्रालयका सहसचिव केशवकुमार शर्माले विद्युतीय सवारीसाधनको विकासका लागि कानून आवश्यक भएको बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।