भारतको चामल निर्यात प्रतिबन्धले नेपालको खाद्य सुरक्षा जोखिममा पर्ने

0
Shares

भारतले गहुँ र चिनीपछि चामल निर्यातमा पनि प्रतिवन्ध लगाए नेपाली खाद्य सुरक्षामा असर पुग्ने भएको छ । रुस र युक्रेनको युद्धका कारण विश्वव्यापी खाद्य संकट आउने जोखिम बढेपछि भारतले निर्यात गर्दै आयका खाद्यन्नमा प्रतिबन्ध लगाउन सुरु गरेको हो ।

भारतले आन्तरिक खपतका लागि नै आवश्यक हुने भन्दै चामल पनि निर्यात बन्द गर्ने तयारी गरेसँगै नेपालको खाद्य सुरक्षा जोखिममा पर्ने भएको छ । नेपालमा आयात हुने चामल अधिकांस भारतबाट आउने गरेको कृषि तथा पशुपन्छि मन्त्रालयका प्रबक्ता प्रकास कुमार सान्जेलले बताए ।

नेपालको आन्तरिक उतपादन भन्दा ६ लाख मेट्रिक टन धान अपुग हुने गरेको बताउँदै सान्जेलले भने,“चालु आर्थिक वर्षको हालसम्ममा करिब ३५ देखि ३६ अर्बको धान चामल आयात भएको छ ।” सान्जेलका अनुसार नेपालमा आयात हुने धान चामल र आन्तरिक उत्पादन बाहेक आवश्यक र आयात भएको परिमाण हेर्दा तथ्याङक मेल खादैन ।

गत आर्थिक वर्षमा करिब ५० अर्ब रुपैयाँ बरावरको धान चामल आयात भएको बताउँदै उनले भने,“चामल शिर्षकमा अन्य बस्तुहरुको आयात गरिएको हुनाले चामलको आयात आवश्यकता भन्दा धेरै भएको देखिन्छ ।” नेपालको सन्दर्भमा वार्षिक आवश्यकता भन्दा करिब १६ केजी धेरै कार्वोहाइडेड खपत हुने गरेको उनले बताए । आवश्यकता भन्दा धेरै खपत गर्ने र भारतले निर्यातमा प्रतिबन्ध लगाउने हो भने खाद्य सुरक्षा जोखिममा पर्ने उनको बुझाई छ ।

भारतले निर्यात बन्द गरेको भन्ने औपचारिक जानकारी नआउने र आधिकारीक जानकारी मन्त्रालयलमा नआएको हुनाले यस सन्दर्भमा छलफल भैनसकेको उनले बताए । नेपालको सन्दर्भमा चामल मात्र नभई अन्य गहँु तथा कमै जस्ता खाद्यन्नलाई मिलाएर खाने हो भने समस्या नहुने समेत उनको विश्लेषण छ ।

भारतीय सञ्चार माध्यम ‘टाइम्स आफ इण्डिया’ का अनुसार आन्तरिक मूल्य वृद्धि नियन्त्रण गर्नका लागि भारतले गहुँ, चिनीमा प्रतिबन्ध लगाएको छ । यसैगरी चामल उत्पादनमा दोस्रो ठूलो राष्ट्र रहेको भारतले चामल निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको समाचारमा उल्लेख छ ।

सन् २००८ यताकै खुद्रा मूल्यवृद्धि दर उच्च भएपछि भारतले मूल्यवृद्धि कम गर्नको लागि निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतीय सञ्चार माध्यमका अनुसार मोदी सरकारले गहुँ, चिनी, चामलको अलावा अन्य दुई उपभोग्य सामाग्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सन् २०२१/२२मा कुल १५० देशहरुमा भारतले चामल निर्यात गर्दै आएको छ । नेपाल पनि चामलको लागि भारतमा निर्भर रहेको छ । पछिल्लो तथ्यांक अनुसार गत १० महिनामा नेपालले भारतबाट कुल ५० करोड किलो चामल आयात गरेको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा खाद्य अभाव हुने सम्भावना बढेको छ ।

यसका साथै भारतले मुद्रास्फीति नियन्त्रण गर्नको लागि पेट्रोलियम पदार्थमा लगाइने एक्साइज ड्यूटी पनि कटौति गरेको छ । नेपालले भारत आयल निगमबाट तेल आयात गर्दै आइरहेको छ । रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खला अवरोध हुन पुगेको छ । भारतबाट आउने

पेट्रोलियम पदार्थको मूल्यसूची बढेको बढेकै छ । महंगो पेट्रोलियम पदार्थले समस्यामा परेका जनता, भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि थप समस्यामा पर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।