चौधरी ग्रुपले ३८ लाखको विद्युतीय कार नेटा भी लञ्च गर्दै

0
Shares

नेपालको व्यवसायीक घराना चौधरी ग्रुप विद्युतीय गाडी व्यापारमा प्रवेश गरेको छ । डलर अर्बपति विनोद चौधरीको चौधरी ग्रुपको सीजी मोटर्सले नेटा ब्रान्ड चिनियाँ विद्युतीय कार नेपालमा भित्र्याएको हो ।

चौधरी ग्रुप अन्तरगत यसअघि देखि नै सीजी मोटोकर्पले मारुती सुजुकीका गाडिहरु आयात गरेर बिक्री वितरण गरिरहेको छ । सो कम्पनीलाई नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीका भतिजा करण चौधरीले नेतृत्व दिँदै आएका छन् । अब भने सीजी मोटर्स अन्तरगत छुट्टै नयाँ कम्पनी मार्फत ईभी ल्याएर व्यवसायिक रुपमा बिक्री वितरण थाल्न लागेको हो ।

ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेटा भी ईभीको आजैदेखि अनलाईन बुकिङ्ग खुला गरिएको चौधरी बताए । प्रबन्ध निर्देशक चौधरीले गत बैशाख सुरुवातमा नै आफ्नो ट्वीटमार्फत विश्वको उत्कृष्ट ब्राण्डको ईभी ल्याउने जानकारी दिएका थिए । सो समयमा उनले कुन ब्राण्डसँग ग्रुपले सहकार्य गर्न लागेको भने खुलाएका थिएनन् । ‘ज्वाइन द सीजी रिभोलुसन’ भन्ने थिममा सीजी मोटर्सले सो ईभी ल्याएको हो ।

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले उक्त ब्राण्डको आधिकारिक वितरकको रुपमा नेपालमा बिक्री वितरण थालेको हो । सीजी मोटर्सले बुधबार ३८ लाख रुपैयाँ पर्ने नेटा भी विद्युतीय कार (ईभी) सार्वजनिक गर्दैछ । कम्पनीले भाटभटेनीस्थित शोरुममा उक्त गाडी लञ्च गर्न लागेको हो । ग्राहकले आजै उक्त गाडीको अविष्मरणीय यात्रा अनुभव संगाल्न सक्नेछन् ।

चिनियाँ ब्रान्ड नेटा भी कारको बजारमूल्य ३७ लाख ९९ हजार रुपैयाँ पर्ने बताइएको छ । यस कारको प्रतिकिलोमिटर खर्च ५० पैसा मात्र लाग्ने कम्पनीले जनाएको छ । यो विद्युतीय कार एक फुल चार्ज गरेपछि ३८० किलोमिटर दौडने भएकाले किफायती मूल्यमा अधिकतम दूरीको यात्रा गर्न सकिनेछ । यो कार खरीद गर्नेलाई सीजी मोटर्सले ६.६ किलोवाटको होमबेस्ड चार्जर र एक वर्षको निःशुल्क बीमा सुविधा उपलब्ध गराउनेछ ।

यसैगरी कम्पनीले नन् मुभिङ्ग एक्सेसरिज पार्टमा दश वर्ष वा २ लाख किलोमिटरमध्ये जुन कम हुन्छ त्यसमा तथा ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर जुन कम हुन्छ त्यसमा वारेन्टी उपलब्ध गराउने जनाएको छ ।

चौधरी ग्रुप ब्यापारका साथै विभिन्न वस्तु तथा सेवा र व्यवसायमा आबद्ध रहेको छ । सिजी एफएमसिजी, सिजी सिमेन्ट, सिजी एजुकेशन, सिजी बायोटेक एण्ड आयुर्वेद, सिजी इलोक्ट्रोनिक्स, सिजी फाइनान्सियल सर्भिसेज, सिजी हस्पिटालिटी, सिजी रियालिटी, सिजी इन्फ्रा, सिजी कोस्टल प्रोजेक्टका साथै पछिल्लो समय सीजीनेट कम्पनी मार्फत आक्रामक बजार मूल्य र उच्चगतिको इन्टरनेट मार्फत इन्टरनेट सेवामा समेत संलग्न रहेको छ । कम्पनीले सिजी मोटरकर्प मार्फत हाल विद्युतीय गाडीको ब्यापारमा समेत हात हालेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।