येनलाई थप कमजोर हुन नदिन मुद्रा अवमूल्यन हुँदै गरेका देशहरुसँग समन्वय गर्दै जापान

0
Shares

जापानी येन सन् २००२ यताकै कमजोर भएपछि जापानको केन्द्रीय बैंक, अर्थ मन्त्रालय र केही वित्तीय संघसंस्थाले संयुक्त रुपमा काम गरी येनलाई थप कमजोर हुन नदिने एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

बैंक अफ जापानका पदाधिकारीहरुसँग छलफल गरेपछि जापानका वरिष्ठ मौद्रिक रणनीतिज्ञ मासाटो कान्डाले छलफलबाट प्रतिपादन भएका समाधानहरुलार्ई सावधानी पूर्वक लागू गर्ने जानकारी गराए । उनले, मुद्रा अवमूल्यन हुँदै गरेका अरु देशहरुसँग समन्वय गरी यस समस्याको समाधान गर्ने बताएका छन् ।

जी७ देशहरुको सूचीमा रहेको जापानले यस समूह अन्तर्गतका देशहरुसँग मुद्रामा आएको कमी र यसले आर्थिक वृद्धि दरमा ल्याएको गिरावटका विषयमा छलफल गर्ने भएको छ ।

संयुक्त विज्ञप्ति जारी गरी जापानी येन अस्वभाविक रुपले कमजोर बन्दै आएको र यसले बजारमा ल्याएको असर प्रति आफूहरुको ध्यानाकर्षण भएको अर्थ मन्त्रालय, बैंक अफ जापान र केही वित्तिय संघसंस्थाले जनाएका छन् ।

विभिन्न समारोहमा एकै साथ रहने अर्थ मन्त्रालय, बैंक अफ जापान र वित्तीय संस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्नु विरलै रहेको समाचार माध्यम रोयटर्सले जनाएको छ ।

संयुक्त विज्ञप्ति पछि डलर ०.७० प्रतिशतले घट्दा येन र डलरबीचको विदेशी विनिमय १ डलर बराबर १३३.४१ येनमा भइरहेको छ ।

जापानले जी७ राष्ट्रहरुसँग मुद्रा स्थीरता काम गर्ने बताएता पनि अमेरिकालाई येन कमजोर हुँदा फाइदा हुने भएकाले अमेरिकाले यसमा जापानको साथ नदिने इटोचु इकोनोमिक रिसर्च इन्स्टीच्युटका वरिष्ठ अर्थशास्त्री एतसुसी ताकेदाले बताएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।