केन्द्रीय बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

0
Shares

केन्द्रीय बैंकले जेठ ३० गते सोमबार २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण उठाउनका लागि बैंकले सो रकम बराबरको बिल जारी गर्न लागेको हो ।

कुल २० अर्बमध्ये ५ अर्बको ट्रेजरी बिल नयाँ हो भने १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी यसअघि जारी ट्रेजरी बिल नवीकरण गर्न लागिएको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल २० अर्ब रुपैयाँको ट्रेजरी बिलमध्ये ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ, १८२ दिने अवधिको ४ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजेभित्र अनलाईन बिडिङबाट बोलकबोल गर्न सकिनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

राष्ट्र बैंकका अनुसार ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल २०७९ भदौ २८ गते, १८२ दिने २०७९ मंसिर २७ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल विसं २०८० जेठ ३० गते परिपक्व हुनेछ ।

 

यसअघि राष्ट्र बैंकले जेठ २३ गते २१ अर्ब ९ करोड रुपैयाँ ट्रेजरी बिल जारी गरेको थियो । सो अवधिमा ९१ दिने अवधिको ४ अर्ब २६ करोडको ट्रेजरी बिलको औषत बट्टादर (डिस्काउन्ट रेड) ९.९०२८ , १८२ दिने अवधिको १० अर्बको ट्रेजरी बिलको औषत बट्टादर १०.४५१४, र ३६४ दिने अवधिको ६ अर्ब ८३ करोडको ट्रेजरी बिलको औषत बट्टादर १०.३७०८ निर्धारण भएको थियो ।

ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

ट्रेजरी बिल भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।