प्रदेश १ का बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १५५.२ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रदेश १ का बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात १५५.२ प्रतिशत रहेको छ । यो कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा उल्लेख्य बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनु पर्छ । त्यो भन्दा बढी भएका बैंक वित्तीय संस्थाले यही असार मसान्तसम्ममा उक्त सीमामा ल्याईसक्नु पर्छ ।

चालु आवको पुमसान्तसम्ममा प्रदेश १ मा वाणिज्य बैंकका शाखा ७४९, विकास बैंकका १८५, वित्त कम्पनीका ३० तथा लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा १८१६ शाखा रहेका छन् । मोरङ जिल्लामा सबैभन्दा बढी ४४२ र ताप्लेजुङमा सबैभन्दा कम ३७ शाखा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ५१ अर्ब पुगेको छ । २०७७ पुस मसान्तको तुलनामा २०७८ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३०.१ प्रतिशतले वृद्धि भई ५ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।

२०७८ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९.६ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २६.५ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४.० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा निक्षेपकर्ताको संख्या १४.० प्रतिशत वृद्धि भई ५४ लाख ९५ हजार पुगेको छ भने ऋणीहरुको संख्या १२.९ प्रतिशत वृद्धि भई २ लाख ७५ हजार पुगेको छ । २०७७ पुस मसान्तमा निक्षेपकर्ताको संख्या ४५ लाख ६५ हजार र ऋणीहरुको संख्या २ लाख २३ हजार रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.२ प्रतिशतले घटेको छ । त्यसैगरी गत आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा तरकारीे बाली उत्पादन ५.९ प्रतिशतले बढेको छ ।

चालु आवको पुसम्ममा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७.१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको समेत केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा यस अध्ययनमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४८.९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.५ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७८ पुसमसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ०.५ प्रतिशतले घटेर एक खर्ब ४४ अर्ब रुपैयाँ भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वाह्य पर्यटक आगमनको संख्या १२२.० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा वाह्य पर्यटक आगमनको संख्या ७६.७ प्रतिशतले घटेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।