पूर्वका उद्योगी व्यवसायीले आजदेखि दोस्रो चरणको आन्दोलन थाल्ने

0
Shares

आर्थिक वर्ष २०७९/०८० को बजेटका केहि व्यवस्थाहरु संशोधनको माग गर्दै आएका पूर्वका व्यवसायीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएका छन । अर्थमन्त्रालयले बजेटका त्रुटि सच्याउने आश्वसान पूरा नगरेको भन्दै उनीहरुले दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताएका हुन ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ मा आबद्ध उद्योगी व्यवसायीहरुले बजेटमा सिमित उद्योगीलाई फाइदा हुने गरि राखिएका प्रावधान संशोधनको माग गर्दै आएका छन ।

आर्थिक विधेयक २०७९/०८०मा जि।आई। वायर उद्योग, वनस्पति ध्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग आदि विभिन्न क्षेत्रका लागि गरिएका त्रुटिपूर्ण व्यवस्थाहरूका कारण मुलुकका कतिपय स्वदेशी उद्योगहरू धरापमा पर्न गई संचालक र श्रमिक मजदुरहरू विस्थापित हुनु पर्ने बाध्यात्मक अवस्था श्रृजना भएको व्यवसायीहरुको भनाई छ ।

अर्थमन्त्रीले गत जेठ २७ गतेका दिन अर्थ मन्त्रालयले आर्थिक विधेयकमा हुन पुगेका त्यस्ता त्रुटिहरुलाई प्रकृयागत रूपमा सच्याउने आश्वासन दिएतापनि हालसम्म पनि सरकारबाट सो विषयहरूमा कुनै कदम नचालिएकाले प्रभावित उद्योगहरू सहित हामी निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरू र ट्रेड युनियनहरू निराश हुन पुगेको र संयुक्त रूपमा दोश्रो चरणको आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य भएको उनीहरुको भनाई छ ।

व्यवसायीहरुले सरकारको विरोधमा आज मोरङको विराटनगर-धरान राजमार्गस्थित गोकुवा चौकमा विरोध कार्यक्रम तथा कोणसभा आयोजना गरी दोश्रो चरणको आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन ।

उनीहरुले बजेटले स्टिल उद्योग, वनस्पति घ्यूतेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पारेको भन्दै तत्काल बजेट संशोधनको माग राखेका छन । सिमित उद्योगी व्यवसायीको व्यवसाय फस्टाउन सहयोग पुग्ने किसिमका विषय बजेटमा समेटिएका कारण समग्र उद्योगी व्यवसायी मारमा पर्ने अवस्था उत्पन्न भएको उनीहरुको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।