बीमाको पहुँच विस्तारका लागि सरकारी सेवासँग आवद्ध गरिने

0
Shares

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आम नागरिकमा बीमाको पहुँच पु¥याउनका लागि सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बीमा नागरिकको जोखिम हस्तान्तरण गर्ने प्रमुख वित्तीय औजार भएकाले बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष सिलवालले बीमालाई आत्मसात गरेर अगाडि बढ्दा नै सरकारले जनताको हित गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्ने उल्लेख गर्दैै आर्थिकरूपले सबल व्यक्तिलाई बीमाका लागि प्रोत्साहित गर्न र सीमान्तकृत एवम् गरीब बर्गलाई बीमाको पहुँचमा ल्याउन अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

अध्यक्ष सिलवालले देशको संघीय संरचना अनुरूप बीमा समितिले विभिन्न तीनवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको र आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि समितिको प्रदेश कार्यालय स्थापना गर्ने जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पु¥याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री पोखरेलले असङ्गठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बीमाको भूमिका महत्वपूर्ण हुने भएकाले बीमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले प्रदेशमा कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा समस्या देखिएको र बीमा दाबी भुक्तानी पनि समयमा हुन नसकेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव लगायत पदाधिकारीहरू, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, विभिन्न सरकारी निकायका प्रमुख एवम् पदाधिकारी, बीमा समितिका सहायक निर्देशक केदारनाथ भट्ट, विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरू लगायत गरी करिव ५५ जनाको सहभागिता रहेको थियो ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।